|

बैतडी : जिल्लाकी एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्वास्थ्यचौकीअन्तर्गत नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेका जानकीले बताइन्। पुर्चौडी नगरपालिका ३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेका हुन्। 

स्थानीय एक वृद्धालाई स्लाइन चढाइरहेका बेला ती युवाले कुटपिट गरेका उनले बताइन्। उनले भनिन्, ‘वृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गाली गर्दै कुटपिट गरे।’ 

ती युवाको कुटपिटबाट जानकीको हातको औला भाचिँएको, मुख, छाती र टाउकोमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। आफू अहिले न्यायको खोजीका लागि नगरपालिका पुगेको जानकीले बताइन्। कुटपिट गर्ने ती युवकले स्वास्थ्य केन्द्रमा कार्यरत स्विपर(कार्यालय  सहयोगी) विमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेका बताइएको छ।  

कुटपिटपछि जानकीले ती युवालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छन्।  कुटपिट गर्ने ती दुवै युवक फरार छन्। फरार मोहन कुँवर र वीरेन्द्र कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्ने उजुरी आएको र  घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। फरार युवकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.