|

लेबनानको मन्त्रिपरिषद्का सबै सदस्यले एकैसाथ राजीनामा दिएका छन्।

गत मंगलबार राजधानी बेरुतमा भयानक विस्फोट भएपछि सरकारी विरोधी आन्दोलन चर्किएको थियो। आन्दोलन चर्किएसँगै प्रधानमन्त्री हसन दियाबसहित क्याबिनेटका सबै सदस्यले राजीनामा दिएका हुन्। 

बेरुतस्थित बन्दरगाहमा वर्षौंदेखि भण्डारण गरेर राखिएको एक दुई हजार ७५० टन एमोनियम नाइट्रेड अगष्ट ८ तारिखमा विस्फोट भएको थियो। 

सोमबार साँझ राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री हसनले आफूसहित सबैको राजीनामा घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामा लेबनानका राष्ट्रपति माइकल आउनलाई बुझाएका हुन्। राजीनामाले छिट्टै औपचारिकता पाउने बीबीसीमा उल्लेख छ। 


राष्ट्रपतिसमक्ष राजीनामा बुझाउँदै लेबनानका प्रधानमन्त्री हसन दियाब ।

प्रधानमन्त्री हसनले राजीनामा दिनुअघि नै मन्त्रिपरिषद्का केही सदस्यले पद त्याग गरेका थिए। तर, आन्दोलनकारीहरुले सरकारका सबै सदस्यको राजीनामा माग गरेका थिए। 
बेरुतमा भएको विस्फोटमा अहिलेसम्म २२० जनाको मृत्यु भएको छ भने हजारौं मानिसहरु घाइते भएका छन्। 

प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का सबै सदस्यले राजीनामा दिएपनि राष्ट्रपति माइकलले नयाँ सरकार गठन नहुन्जेल पदमा रहिरहन आग्रह गरेका छन्। 

महिनौं लामो राजनीति गतिरोधपछि दियाब गत जनवरीमा प्रधानमन्त्री चुनिएका थिए। मुलुकलाई अघि बढाउन भन्दै उनले एक मार्गचित्र समेत पेश गरेका थिए। तर चरम भ्रष्टाचारका कारण उनको सरकारप्रति पनि नागरिक असन्तुष्ट थिए। 

राजीनामा दिन गरिएको सम्बोधनमा प्रधानमन्त्री दियाबले भनेका छन्, 'लेबनानमा भ्रष्टाचार देशभन्दा ठूलो छ।' 

बेरुत विस्फोटमा अझै ११० जना मानिसहरु हराइरहेका छन्। यी मध्ये अधिकांश विदेशी कर्मचारी र ट्रक ड्राइभरहरु रहेको बताइएको छ। विस्फोटका कारण ६ हजार भन्दा धेरै मानिसहरु घाइते भएका छन्। 

यो विस्फोटको प्रमुख कारण राजनीतिक वर्गमा व्याप्त भ्रष्टाचार र कुशासन रहेको भन्दै त्यहाँका नागरिक प्रदर्शनका उत्रिएका थिए। शहरको प्रमुख भागमा विस्फोटक राख्नुका पछाडि भ्रष्टाचार नै रहेको लेबनानी नागरिकको बुझाई छ। 

बेरुत विस्फोटका कारण लेबनानलाई तीन अर्ब डलर बराबरको आर्थिक नोक्सानी भएको छ। यसको प्रभाव लामो समयसम्म चलिरहने र देशको अर्थव्यवस्थामा कम्तिमा १५ अर्ब डलर क्षति पुग्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.