२४ घण्टामा थपिए १ सय ७४ संक्रमित

|

पर्सा : कोरोना महामारीको हटस्पट बन्दै गएको प्रदेश नम्बर २ मा मृत्यु हुने संख्या फेरि १ थपिएको छ। योसहित प्रदेश २ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको हो। 

पछिल्लो पटक थपिएको मृत्यु संख्या धनुषाको भएको प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा विजय कुमार झाले बताए। 

नयाँ संक्रमित पनि थपिए  

यता प्रदेश २ मा गएको २४ घण्टामा नयाँ संक्रमित पनि १ सय ७४ जना थपिएका छन्। थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढी पर्साका ६५ जना छन्। त्यसै गरी नयाँ संक्रमित थपिनेमा रौतहट पनि अगाडि नै छ। प्रदेशभर सबैभन्दा बढी १ हजार ३ सय ४२ संक्रमित रहेको रौतहटमा आज मात्र ४० जना थपिएका छन्। 

नयाँ संक्रमित थपिनेमा रौतहटपछि सर्लाहीमा २१, धनुषामा १८, महोत्तरी १०,  सिरहामा ९, बारामा ७ र सप्तरीमा ४ जना रहेका प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ।नयाँ थपिएका संक्रमितहरुमा चिकित्सक, स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी र आम सर्वसाधारणसम्म रहेका प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा झाले बताए। थपिएका संक्रमितमा ३६ जना महिला र १ सय ३८ जना पुरुष छन्। 

कुल संक्रमित संख्या ६ हजार ६८ 

यो प्रदेशमा मंगलबारसम्म कुल संक्रमितको संख्या भने ६ हजार ६८ पुगेको छ । संक्रमित मध्ये ३ हजार ४ सय १२ जनाले कोरोना जितेर निको भइसकेका छन् । निको हुनेमा पर्साको क्षेत्र नम्बर का संघीय सांसद प्रदिप यादव पनि परेका छन् । उनी ११ दिन पछि निको भएका हुन् । आज उनको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालले जनाएको हो । 

संक्रमित संख्या बढ्ने क्रम केही मथ्थर रहेको समयमा गएको साउन ६ गते पूर्णरुपले लकडाउन हटेपछि भने फेरि यो प्रदेशमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । अहिले भने यो प्रदेशका अस्पतालको क्षमताभन्दा संक्रमित संख्या बढी भइसकेको छ । 

१३०० सय संक्रमित अस्पताल बाहिर 

प्रदेशभर हालसम्म १३ सय संक्रमित अस्पताल बाहिर नै रहेका छन् । सांसद यादव पनि अस्पतालमा ठाउँ अभाव भइरहेको समयमा आफ्नै घरको आइसोलेसनमा बसेका छन् । 

अझै २ हजार ६ सय ५६ जना संक्रमित यो प्रदेशमा निको हुने क्रममा रहेकामध्ये जम्मा १ हजार ३ सय ५६ जना मात्र अस्पतालको आइसोलेसनमा छन् । बाँकी १ हजार ३ सय भने अस्पतालमा ठाउँ अभावमा बाहिर नै रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झाले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.