सञ्चालन गर्न सरकारकाे आदेश पर्खिँदै स्थानीय तह

|

काठमाडौं : उपत्यकाको कोभिड अस्पतालमा संक्रमित भरिँदै गएका छन्। लक्षणसहितका संक्रमित बढेसँगै अस्पतालमा बेडको अभाव पनि हुँदै गएको छ। काठमाडौं उपत्यकामा मात्र मंगलबार मात्र १ सय ३४ मा कोरोना पुष्टि भएको छ। अस्पतालमा आइसियु र भेन्टिलेटरमा बसी उपचार गर्नेको सख्या दिनप्रतिदिन बढिरहेको छ।

यसरी संक्रमितको संख्या बढदै गएमा अस्पतालमा बेडको अभाव हुने निश्चित छ। यस्तो बेलामा पनि ७ करोड ५८ लाख ५९ हजार ६७१ रुपैयाँ खर्च गरेर बनाइएको क्‍वारेन्टाइन कार्यविधि नबन्दा पूर्ण रुपमा प्रयोगमा ल्याइएको छैन।

मापदण्डसहित क्‍वारेन्टाइन बनेपनि सञ्चालन कार्यविधि नबन्दा निर्माण भएका क्‍वारेन्टाइन सञ्चालनमा नआएका हुन्। सरकारले उपत्यकाको ७ ठाउँमा क्‍वारेन्टाइन बनाएको छ। २ वटा क्‍वारेन्टाइन प्रयाेगमा आएपनि बाँकी त्यसै छन्। 

काठमाडौंमा १ हजार ९४८ बेड क्षमताको क्‍वारेन्टाइन बनाइएको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न भारत र तेस्रो मुलुकबाट आएका नेपालीलाई राख्न सरकारले यी क्‍वारेन्टाइन बनाएको हो।

दधिकोटको मनमोहन अस्पतालमा ३४०, इचंगुनारायणको जनता आवास केन्द्रमा ५५०, खरिपाटी तालिम केन्द्रमा २००, तेल कोटको खानेपानीको तालिम केन्द्र भवनमा ५०, सामाखुसीको राधा स्वामीमा ५०० र कीर्तिपुरको राधा स्वामीमा ३०८ बेडको क्‍वारेन्टाइन निर्माण भइसकेको छ।

'स्थानीय सरकारले क्‍वारेन्टाइन प्रयोगमा चासो दिएनन्'

काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण तथा रोकथाम गर्न सहरी विकास मन्त्रालयले क्‍वारेन्टाइन निर्माण गरेको हो। खरिपाटी र इचंगुनारायणको क्‍वारेन्टाइन प्रयोगमा आइसकेको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताए। उपत्यकामा जनसंख्याको चाप बढिरहेकाले क्‍वारेन्टाइनमा बेड संख्या बढी बनाएको उनको भनाई छ।

'मन्त्रालयको काम बनाइदिने हो, हामीले हाम्रो कर्तव्य पूरा गरिसकेको छौं,' मन्त्री मानन्धरले भने, 'जसलाई आवश्यक पर्छ, उसले प्रयोगमा ल्याउन सक्छ। विशेषगरी यो क्‍वारेन्टाइन स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना हो। स्थानीय निकायले यसमा चासो दिएका छैनन्।'

सुविधायुक्त क्‍वारेन्टाइन बनाइएकाले त्यहाँ संक्रमितलाई राखी उपचार गर्न सकिने उनको दाबी छ। उपत्यकाको अस्पतालमा संक्रमितको संख्या बढ्दै गएकोले अहिले निर्माण गरिएको क्‍वारेन्टाइनलाई आइसोलेसनको रुपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

व्यवस्थापन र सुरक्षा जिम्मा सेनालाई

उपत्यकामा निर्माण भएका क्‍वारेन्टाइनको व्यवस्थापन र सुरक्षा जिम्मा नेपाली सेनाले पाएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

उनले भने, 'नेपाली सेनाले क्‍वारेन्टाइन सुरक्षाको मात्र जिम्मेवारी पाएको छ। सञ्चालन गर्ने अधिकार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई मात्र छ। अहिले पनि केही स्थानीय तहले क्‍वारेन्टाइन प्रयोग गरिरहेका छन्।'

विदेशबाट आएका नेपालीलाई उपत्यकामा रहेका होल्डिङ सेन्टरसम्म पुर्‍याउने जिम्मा सेनाले गरिरहेको पौडेलले जानकारी दिए।

'आवश्यक परे क्‍वारेन्टाइन प्रयोग गर्छौं'

उपत्यकाको कोभिड अस्पतालमा संक्रमित संख्या उकालाे लागिरहेकाले आइसोलेसन केन्द्रको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। उनले भने, 'प्रहरी र नेपाली सेनाको अस्पताललाई आइसोलेसन सेन्टर बनाउने तयारी भइरहेको छ, कीर्तिपुरको आयुर्वेदिक अस्पतालमा उपचार सुरु भइसकेको छ।'

अस्पताल अभाव भए उपत्यकामा निर्माण भएका क्‍वारेन्टाइनलाई प्रयोग गर्न सकिने उनको भनाई छ। आइसोलेसनको मापदण्डअनुसार क्‍वारेन्टाइन नबनाइएकाले संक्रमितलाई उपचार गर्न गाह्रो हुने उनको भनाइ छ।

'निजी अस्पताललाई पनि संक्रमितको उपचार गर्न निर्देशन दिइसकेको छौं,' गौतमले भने, 'क्‍वारेन्टाइन प्रयोगमा ल्याउन सिसिएमसी लाई मात्र अधिकार छ।'

'क्‍वारेन्टाइन प्रयोगमा अनुमति पाए प्रयोग गर्छौं'

उपत्यकामा निर्माण भएका क्‍वारेन्टाइन प्रयोगबारे जिल्ला प्रशासन कार्यालयस्थित सिसिएमसीले निर्णय गर्ने र अहिले नै स्थानीय निकायले प्रयोगमा ल्याइहाल्न नमिल्ने ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल बताउँछिन्।

सिसिएमसीले स्थानीय तहलाई प्रयोगमा ल्याउन अनुमति दिएमात्र प्रयोगमा ल्याइने सत्यालले बताइन्। 'विदेश र बाहिरी जिल्लाबाट उपत्यका आएका मानिसलाई क्‍वारेन्टाइनमा राखिन्छ,' उपप्रमुख सत्यालले भनिन्, 'महानगरपालिकाले यस विषयमा निर्णय गरिसकेको छैन, सरकारबाट उपयुक्त निर्देशन पर्खिरहेका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.