डाक्टरले मिर्गौला फेललाई मृत्युको कारण भनेका थिए

|

काठमाडौं : पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्‍नेतले साउन २२ मा निधन भएका आफ्ना ८४ वर्षीय बुवाको शव त्रिवि शिक्षण अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको गुनासो गरेका छन्। 

बस्‍नेतका ८४ वर्षीय बुवाको निधनपछि दाहसंस्कारसमेत भइसकेको अवस्थमा सरकारले कोरोना पुष्टि गरेपछि अहिले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्र तनावमा छ।

त्यहीँका बासिन्दा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बस्‍नेतले आफ्ना बुवाको मृत्युमा समेत राजनीति गर्न खोजिएको आरोप लगाएका छन्। राजनीतिक कुचेष्टासहित बुवाको शव पिसिआर रिपोर्टसमेत नआई जवरजस्ती अस्पतालबाट लगिएको भनेर आफूलाई बदनाम गर्न खोजिएको उनले गुनासो गरेका छन्। 

उनले आफ्ना बुवाको मृत्यु कोरोनाले भन्दा दुवै मिर्गौलाले काम नगरेका कारण भएको पनि तर्क गरेका छन्। 'वास्तवमा बुबाको मृत्यु दुवै किड्नी खराब भएकाले हो। उपचारमा संलग्‍न स्वास्थकर्मीले तुरुन्त शव निकाल्नु भन्दा पनि हामीले भोलिपल्ट बिहान ७ बजे मात्रै शव निकालेका थियौँ', उनले भनेका छन्, 'शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा  सुरुमा पिसिआर नेगेटिभ देखिएको थियो।'

त्यहाँ डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारी गराएका उनले बताए। 'डाक्टरले दुवै किड्नी ड्यामेज भएकाले निधन भएको बताएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं', उनले भनेका छन्, 'दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारीपछि दाहसंस्कारमा धेरै शुभचिन्तक सहभागी भए।'

बस्‍नेतले मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन्। 'नमुना लिएको ६ घण्टामा आउने रिपोर्ट कोरोना लागेर मृत्यु भएको भन्दै स्वास्थ्य मन्त्रालयबाट एक सातापछि समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी छैन', उनले अगाडि भने, 'यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजानु भन्‍ने अमानवीय हर्कत भयो?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.