|

म्याग्दी : कालीगण्डकी करिडोर अन्तर्गत बेनी-जोमसोम सडक खण्डमा पर्ने गलेश्वरस्थित राहुघाटको बेलिब्रिज बाढीले बगाएको एक महिनापछि सञ्चालनमा ल्याइएको छ। 

लगातारको वर्षापछि आएको बाढीले गत असार २५ गते बेलिब्रिजमा क्षति पुर्‍याएको थियो। बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ को सिमानामा अवस्थित बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएपछि यातायात आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो। 

मर्मतपश्चात बेलिब्रिज सञ्चालनमा आएको बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले जानकारी दिएका छन्‌। उनले भने, ‘आजदेखि हलुका सवारीसाधन सञ्चालनमा आएका छन्, केही दिन हेभी सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ।'

तत्काललाई हलुका सवारीसाधन आवतजावत गर्ने र विद्युतका ठूला उपकरण, हेभी इक्यूमेन्ट ढुवानी गर्दा पुल भासिनसक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयलाई निगरानीको लागि अनुरोध गरिएको छ।

पुल पुनर्निर्माणमा जन-श्रमदानसहित करिब ५० लाख रुपैयाँ खर्च भएको छ। बेनी-जोमसोम, कोरोला सडक आयोजनाको आकस्मिक कोषबाट खर्च हुने गरी पुल मर्मत गरिएको तिवारीले बताए। 

'भदौ ८ गतेसम्मका पुलबाट हलुका सवारीसाधन र जीपसम्म आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ,' आयोजना सब–इन्जिनियर गजेन्द्र प्रसाद रावतले भने, ‘यो पुल अहिले पुरानो स्वरुपमा नै फर्किएको छ, पुलको भारवहन क्षमता १८ दशमलव ५ टन रहेको छ’। उनका अनुसार भत्किएको पुललाई उठाउन भ्याट सहित १० लाख रुपैयाँ खर्च भएको छ। पुलको दुवै साइटमा ४४६ घनमिटर ग्याबिन लगाइएको छ।

‘भत्किएको पुललाई मर्मत गरेर पुरानै स्वरुपमा ल्याउनका लागि ४६ रुपैयाँ लाख लागत लागेको छ,’ रावतले भने, 'यसमा हामीले जन-श्रमदानलाई राखेका छैनौं, जन-श्रमदानसहित पुल मर्मत लागत करिब ५० लाख रुपैयाँ पुगेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.