निको हुने दर ९० प्रतिशत, तत्काल लकडाउन नहुने

|

पर्वत : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भएर पनि निको हुनेहरूको सङ्ख्या बढ्दै गएपछि निको हुने दर ९०.६६ प्रतिशत पुगेको छ। 

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार मंगलबार साँझसम्मको तथ्यांकअनुसार प्रदेशका ११ जिल्लामा १६ सय ४८ जनामा सङ्क्रमित भएका छन् भने तिनीहरू मध्ये १४ सय ९४ जनालाई निको भएको छ। 

सम्बन्धित जिल्लाका आइसोलेसनमा राखेर उपचार गरिएपछि निको भएकाहरू घर फर्किसकेका छन्। प्रदेशमा अब कुल सक्रिय केसको सङ्ख्या १ सय ४९ रहेको छ। क्वारेन्टाइनमा ११ सय ४० जना बसिरहेका छन्। 

गण्डकीमा हालसम्म कोरोना सङ्क्रमणको पुष्टि भएका ५ जनाको मृत्यु भएको छ। उनीहरू कास्कीका १ जना, गोरखाका १ जना, स्याङ्जाका २ जना र बागलुङका १ जना रहेका छन्।

गण्डकीका मुस्ताङ र मनाङ जिल्ला भने कोरोनामुक्त भइसकेका छन्। ती दुई जिल्लामा १÷१ जनामा सङ्क्रमणको पुष्टि भएको भए पनि उनीहरू दुवै जनालाई निको भएपछि सक्रिय केसको सङ्ख्या शून्यमा झरेको छ। 

बाँकी ९ जिल्लामध्ये सबैभन्दा बढी सक्रिय केस कास्कीमा रहेका छन्। सङ्क्रमितको कुल सङ्ख्या १ सय ९० जना रहेको कास्कीमा निको भएकाहरूको सङ्ख्या १ सय ३४ रहेको छ भने ५५ जनामा कोरोना सक्रिय रहेको छ।

पर्वतमा सङ्क्रमितहरूको कुल सङ्ख्या १ सय ३ रहेकोमा ९८ जनाले कोरोना जितेका छन् भने आइसोलेसनमा ५ जनाको उपचार चलिरहेको छ। म्याग्दीका ४८ जना सङ्क्रमितमध्ये ४७  जना निको भएर फर्किँदा १ जनालाई मात्र निको हुन बाँकी छ। 

स्याङ्जामा सङ्क्रमितको कुल सङ्ख्या २ सय ९७ रहेकोमा २ सय ४५ जनालाई निको भएको छ। ५० जना आइसोलेसनमा रहेका छन्। यस्तै लमजुङका १ सय ११ जना सङ्क्रमितमध्ये २ जना मात्र आइसोलेसनमा छन्। १ जनाको मृत्यु समेत भएको गोरखामा पनि कोरोनाको अवस्था सामान्य बनेको छ। सङ्क्रमितको कुल सङ्ख्या १ सय १६ रहेको भए पनि १ सय १२ जना घर उपचारपछि घर फर्किएका छन्, ३ जनाको उपचार चलिरहेको छ। 

तनहुँमा सक्रिय केसको सङ्ख्या ११ रहेको छ। कुल सङ्क्रमित १ सय ८८ जना भएकोमा १ सय ७७ जनाले कोरोनालाई जितेका छन्। सङ्क्रमितहरूको सङ्ख्या सबैभन्दा बढी रहेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को अवस्था पनि सम्हालिएको अवस्थामा छ। ३ सय ३० जनामा सङ्क्रमणको पुष्टि भएकोमा ३ सय २६ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको उपचार चलिरहेको छ। बागलुङमा सक्रिय केसको सङ्ख्या १८ रहेको छ। २ सय ६३ जनामा सङ्क्रमणको पुष्टि भएकोमा २ सय ४४ जनाले कोरोनालाई जितेका छन्। 

तत्काल लकडाउन नहुने मुख्यमन्त्रीको सोच

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको वर्तमान अवस्थालाई हेर्दा तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेकोले प्रदेश सरकारले लकडाउनको बारेमा कुनै तयारी नगरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।

गण्डकीमा सङ्क्रमितहरू थपिने क्रम चलिरहेको भए पनि अवस्था नियन्त्रणमा रहेका कारण लकडाउनको आवश्यकता नरहेको उनको भनाई छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फेनिज) को २१ औँ स्थापना दिवसका अवसरमा मङ्गलवार पोखरामा भएको एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले आफ्नै साधन र स्रोतबाट कोरोनाको व्यवस्थापन गरिरहेको बताउँदै नागरिक सचेत भएर सुरक्षा सतर्कता अपनाएमा लकडाउन नै गर्न नपर्ने सुझाए।

नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले लकडाउन फेरि लगाइनुपर्छ भन्ने आवाज उठेको भए पनि हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने गरी खोलिसकेका उद्योग, कलकारखाना तथा निर्माण व्यवसायलाई बन्द नगर्ने उल्लेख गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.