ओखलढुंगा : खिजीदेम्वा गाउँपालिका ८ स्थित चुलीमा रहेको ऐतिहासिक माने अतिक्रमणमा परेको छ। जनप्रतिनिधिले नै मानेमा गोठ बनाएका छन्। माने अतिक्रमण गरेर वडा नं. ८ का वडासदस्य लमु शेर्पाले माने वस्तु गोठ निर्माण गरेका स्थानीयको आरोप छ।
बौद्ध धर्मको आस्थासँग जोडिएका माने सार्वजनिक महत्वको भएकाले व्यक्तिले भत्काउने वा अतिक्रमण गर्नु धार्मिक आस्थामाथि प्रहर भएको स्थानीय पासाङ शेर्पाको भनाइ छ।वडासदस्य शेर्पाले जीर्ण अवस्थामा रहेको माने संरक्षणको साटो जनप्रतिनिधि भएर अतिक्रमण गरेकोे आरोप स्थानीयले लगाएका छन्। साथै उक्त कार्य लज्जास्पद भएको पनि एक स्थानीयले बताए।
उक्त गोठ बनाएको विषयमा कुरा गर्दा शेर्पाले आफूले अतिक्रमण नगरेको र माने आफैं भत्किन लागेको बताइन्। भत्किन लागेकाले अन्यत्रै सार्न समूहले निर्णय गरेको र आफूले केही हस्पक्षेत्रप नगरेको उनको भनाइ छ। माने आफ्नै जग्गामा भएको र अन्यत्र सार्ने कुरा भएको उनले बताएकी छन्। धार्मिक आस्थासँग जोडिएको माने भत्काएको वा अतिक्रमण भएको विषयमा वडाध्यक्ष नगेन्द्र बस्नेतले पनि जीर्ण भएकाले अन्यत्र सार्नुपर्ने भएको बताए।
के हो माने ?
साधारण भाषामा बुझ्दा माने एक प्रकारको चौतारी हो, जहाँ बौद्ध धर्मावलम्बीले घुमेर पुज्छन्। विश्राम गर्छन्, निर्माण गर्दा योगदान गर्नेहरुको नाम ढुंगामा मन्त्रसहित लेखिन्छ र यसभित्र बहुमूल्य धातु तथा आस्थाका वस्तु राख्ने गरिन्छ।
माने बौद्ध धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्रका रुपमा लिइन्छ। माने निर्माण सामूहिक योगदानमा मानवको रक्षा र शान्तिको कामनासहित प्रायः सार्वजनिक ठाउँमा निर्माण गरिन्छ।
व्यक्तिले जग्गा दिएर बनाइए पनि यहाँ बनाइसकेपछि सबैको सरोकार र स्वामित्व रहन्छ। यसलाई भत्काउन वा उत्खनन गर्नु धर्मविरोधी काम मानिन्छ। माने भएको स्थलमा खोतल्नसमेत पाइँदैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।