कांग्रेसमा आन्तरिक लोकतन्त्र नै हराइसक्यो

|

काठमाडौं:  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्‍ने मानसिकता रहेको टिप्पणी गरेका छन्। 

सभापति देउवाले विधान मिचेर पटकपटक विभाग गठन गरेकोबारे ध्यानाकर्षण गराउँदा कुरै नसुनेको उनले बताए। देउवामा विधान जति मिच्‍न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्‍ने मानसिकता रहेको टिप्पणी पौडेलले गरेका छन्। 

बुधबार न्यूज एजेन्सी नेपालका सम्वाददातासँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले यसो भनेका हुन्। विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्‍ने खतरा बढेको उनले बताए। 

‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं। तर नेपाली कांग्रेस भित्र विधान मिच्नु बहादुरी हुने हाम्रो सभापतिलाई लागेको छ', उनले भने, 'विधान मैले जति मिच्‍न सके म त्यति बलवान सभापति ठहर्छु भन्‍ने उहाँको मानसिकता छ। त्यसैले यो पार्टी डेमोक्रेटिक नै हो की होइन भन्‍ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएका हौं।'

सभापति देउवालाई विधान मिच्‍ने बानी परिसकेको पौडेलले बताए। आफू बहादुर हुँ भन्‍ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गरे। 

‘विधान मिच्‍ने बानी पर्‍यो, हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्‍ने सोच्नुहुन्छ। मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोड्छ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिँड्नुहुन्थ्यो एकताका', उनले भने, 'उहाँलाई जे बोले पनि सबैले हाँसेर लिइदिन्थे। अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्‍यायो। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्‍यो, क्षती पुर्‍यायो र घायल बनायो।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भन्दा देउवाले नमानेको पौडेलले बताए। 
महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको बताउँदै उनले अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताए। 

चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनै पनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए। ‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ। मान्छे भर्ना गरेर नाम पत्रिकामा छपाएर चार वर्षसम्म उहाँको कार्यकाल सकिएपछि उहाँ कामचलाउ सभापति भइसकेपछि यो कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ?', पौडेलले प्रश्‍न गरे, 'यो कुरा हामी भनिरहेका छौं की यसरी धज्जी नउडाऔँ। विधानको धज्जी नउडाऔँ। लोकतान्त्रिक मूल्य मान्यताको धज्जी नउडाऔँ। कांग्रेस लोकतन्त्रको पर्याय जस्तो भएको नेपालमा यसको अस्तित्वलाई नै संकटमा पार्ने कुरा भयो।’

फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्‍ने उनले बताए। 'फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढिसकेका छौं। महाधिवेशनमा प्रवेश गरिसकेका छौं', उनले भने, 'यसलाई क्रियाशीलको अनि वडाको मात्र होइन, केन्द्रीय महाधिवेशनको उद्घाटन नभइ भन्लान् फेरि यो त जाली कुरा हो नी। यस्तो गरेर पार्टीको वैधानिक मर्यादामाथि आँच पुर्‍याउन पाइन्छ?’

पार्टीमा विधान मिचेको विषयलाई गम्भीरतापूर्वक उठाउँदै जाने बताउँदै उनले महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्‍ने बताए। अहिलेको केन्द्रीय समितिमा देउवाकै बहुमत हुँदा त्यहाँबाट विकल्प खोज्‍न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाणसहित अघि बढ्ने उनले बताए। 

‘यो विषयलाई हामी गम्भीरतापूर्वक उठाउँदै जान्छौं। यो विषयलाई महाधिवेशनसम्म उहाँको मनपरीतन्त्रको, स्वेच्छाचारीतन्त्रको प्रमाण यही हो भनेर हामी भन्छौँ', उनले भने, 'त्यसकारण उहाँको विकल्प खोज्नुपर्ने स्थिति जन्माइराखेको छ।’ 

वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफू नै हुनुपर्छ भन्‍ने दावी नगरेको समेत स्पस्ट पारेका छन्। तर पार्टीले आफूलाई न्याय गर्नुपर्ने उनको भनाई छ। पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्‍न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने उनले बताए। 

पटकपटक मौका पाएकाले सत्ताको दुरुपयोग गरे नगरेको हेरेर विवेक पुर्‍याएर निर्णय गर्नुपर्ने तर्क पौडेलको छ। 'हामी नै हुनुपर्छ मै हुनुपर्छ भनेर मैले कहिले पनि भनेको छैन। तर एउटा कुरा को हो भने समाजले न्याय चाहिं गर्नुपर्छ। पार्टीका आम साथीहरुले न्याय चाहिँ गर्नुपर्छ। पार्टीमा सबैलाई एकनास उमेरको आधारमा एउटै क्याटागोरीमा सबैलाई राख्‍न पाइँदैन। किनभने कसैले पार्टीमा कुनै अहित नगरेर पार्टीको हितको पक्षमा मात्रै जीवन दिएका छन् होला', पौडेलले भने, 'कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान् सत्ताको, त्यसको विवेक त पुर्‍याउनु पर्छ नी। उमेरको भरमा मात्रै कसैलाई पन्छाउने र राख्‍ने भन्‍ने कुरा चाहिँ हुँदैन। स्वभाविक प्रक्रियाबाट नेतृत्व आउँछ।’ 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.