|

काभ्रे : सेवाग्राहीसँग घुस लिएपछि ६ जना प्रहरीलाई निलम्बन गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालयले काभ्रेको एक र सिन्धुलीको पाँचसहित ६ जना प्रहरीलाई घुस लिएको आरोपमा निलम्बन गरेको हो। बुधबार उनीहरुलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको थियो।

राजमार्गमा प्रहरीले सेवाग्राहीसँग मासिक रकम बुझ्छ भन्‍ने पटक–पटक सुन्दै आएको थियो। तर यसबारे सोध्दा प्रहरी अधिकृतहरूले हल्लामा सत्यता नभएको बताउँदै आएका थिए। तर बुधबार घुस लिँदै गरेको अवस्थामा नियन्त्रण लिई निलम्बन गरेसँगै प्रहरीले सेवाग्राहीसँग रकम लिएको पुष्टि भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सुचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाको अनुसार निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नवीन बहादुर थापा छन्।

त्यस्तै सिन्धुलीका प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, डोरबहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धीरेन्द्र साह र राम कुमार थापा रहेका छन्।

कार्यालयले डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा उनीहरूमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानविन टोली गठन गरेको छ। उनीहरुले सवारी चालकसँग विभिन्न बहानामा घुस लिदै आएको थियो।

११ निलम्बन, २५ पुरस्कृत

बागमती प्रदेश कार्यालयले घुस लिनेलाई निलम्बन र घुस दिन खोज्दा पक्राउ गर्नेलाई पुरस्कृत गर्दै आएको छ।

कार्यालयका अनुसार अहिलेसम्म एक जना प्रहरी निरीक्षकसहित घुस लिने ११ जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ। यस्तै घुस दिन खोज्नेलाई पक्राउ गर्ने २५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.