गिरिजा हुँदा बलिया, तर पछि कमजोर बनेका सिटौलाको सभापति दौड तीव्र

|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन (७–१०) मा तोकिएको छ। यद्यपि, तोकिएकै समयमा महाधिवेशन हुने/नहुनेबारे शंका छ। कांग्रेसको पदाधिकारी बैठकमै 'महाधिवेशन फागुनमा नगरी बैशाख-जेठमा महाधिवेशन गरौँ' भनेर प्रस्ताव पनि राखिएको छ।

क्रियाशील सदस्यता नवीकरण तथा वितरण, संगठन समायोजन लगायतका काम समयमै सम्पन्न नहुने अनुमान लगाउँदै नेताहरुले महाधिवेशन सार्ने विषयमा छलफल गरेका हुन्। गत बिहीबार देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुलाई बोलाएर क्रियाशील सदस्यता शतप्रतिशत बढाउने निर्णय गराएका थिए। 

उक्त बैठकमा फागुनमा महाधिवेशन गर्न नसक्ने र मिति सार्नुपर्छ भन्ने नेता हुन्‌ : कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला। १३औँ महाधिवेशनमा आफ्नै गुट स्थापित गरेका सिटौलाले १४औँ महाधिवेशनमा के गर्लान् भन्ने सबैको चासो छ।

गत हिउँदमा गृह जिल्ला पुगेर सभापति लड्ने बताएका सिटौलाले यसका लागि औपचारिक घोषणा भने गरेका छैनन्। तर, उनले आफू सभापति नलड्न त्यस्तो कुनै कारण नभएको बताउँदै आएका छन्‌।

के भन्छन् सिटौला ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार लड्ने तयारी गरेका नेताहरुमध्ये सिटौला पनि एक हुन्। उनी १३ औँ महाधिवेशनमा पनि सभापतिमै शेरबहादुर देउवासँग पराजित भएका थिए।

उनी यसपटक पनि सभापति लड्ने तयारीका साथ जिल्ला धाइरहेका छन्। ‘म अहिले विभिन्न जिल्लातिर गइरहेको छु,’ थाहा खबरसँग कुरा गर्दै सिटौलाले भने, ‘विशेष तयारीका साथ महाधिवेशनमा जाँदैछु, मेरो टिम जान्छ, लामो समय परीक्षण भइसकेकाहरुको विकल्प हामी हौँ।’

सिटौलाले महाधिवेशनको तयारीको लागि नै सम्पर्क कार्यालयसमेत खोलिसकेका छन्। उनका निकट मानिने प्रदीप पौडेल पनि सिटौलाले सभापति लड्न विशेष तयारी गरिरहेको बताउँछन्। उनले भने, ‘सम्पर्क कार्यालय खुलिसकेको छ, सबैभन्दा धेरै तयारी उहाँले नै गर्नुभएको छ।’

गिरिजाका विश्वासपात्र सिटौला 

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई राजनीतिका चतुर खेलाडीका रुपमा चिनिन्थ्यो। उनकै नेतृत्वमा सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको थियो।

यो कामका लागि गिरिजाले कृष्णप्रसाद सिटौलाको राम्रै साथ लिए। १० वर्षभन्दा लामो नेपाली गृहयुद्ध अन्त्यको घोषणा गर्दै नेपाल सरकार र ने.क.पा. (माओवादी) ले वि.सं. २०६३ मंसिर ५ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

बाह्रबुँदे समझदारी भएको बेला र त्यसपछि कांग्रेस नेता सिटौला कोइरालाको विश्वासपात्र नेता मानिन्थे। तत्कालीन विद्रोही माओवादीसँग पटक-पटक वार्ता र छलफलका लागि गिरिजाले सिटौलालाई जिम्मा दिएका थिए।

सिटौला त्यसबेला गिरिजाकै क्याबिनेटका सदस्य थिए। सो क्षण सम्झँदै सिटौला भन्छन्, ‘दुईवटा बन्दुकको बीचमा जनता परेका छन् र त्यो बन्दुकको मारबाट जनतालाई निकाल्नुपर्छ, शान्ति स्थापना गर्नुपर्छ भन्ने उहाँ (गिरिजाप्रसाद कोइराला) को मूल लक्ष्य थियो। मैले उहाँलाई यस्तो महत्वपूर्ण काममा साथ दिन पाएँ।’

तत्कालीन विद्रोही माओवादीका नेता प्रचण्डसँगै डा. बाबुराम भट्टराईलाई लिन तत्कालीन गृहमन्त्री सिटौलालाई गिरिजाले हेलिकोप्टर लिएर कास्कीको सिक्लेस पठाएका थिए। त्यसबाहेक पनि कांग्रेसको आन्तरिक गतिविधिमा समेत गिरिजाले सिटौलालाई निकट राखे।

जोखिम उठाएर पुलिस बिनै शेखर कोइरालालाई लिएर सिटौला सिक्लेस गएका थिए। संविधान बनाउने समयमा पनि मस्यौदा समितिको संयोजकको बनेर काम गर्ने मौका पाए। तर, गिरिजाको निधनपछि सिटौला कांग्रेस भित्र गुटगत हिसाबले कमजोर छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.