|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा जीतगढी युद्धको सम्झनामा बुधबार रण उजीरेश्वरी भगवती यात्रा (जात्रा) निकालिएको छ। 

भगवतीको रथ यात्राले नेपाल अङ्ग्रेज युद्धको जीतगढी युद्धलाई सम्झाउने गर्छ। विसं.१८७१ ÷७२ तिर जीतगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजिर  सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। 

भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सवसहित भगवतीको रथ यात्रा निकालिने चलन छ। 

जीतगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंह ले भगवती मन्दिरको मर्मत सम्भार गर्नुका साथै  सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो। दुई सय दुई औं संस्करणको रुपमा जात्रा निकालिएको हो। साइत अनुसार मध्याह्न १२ बजेर ५ मिनेट जाँदा भगवतीको प्रतिमूर्ति निकालिएको थियो। 

नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्ति वाचन गरेर जात्रा सुरु भएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए।  तर कोरोना भाइरस (कोभिड १९) का कारण यो वर्ष भने विगत वर्ष जस्तो रथ यात्रा निकालिएन। भगवतीको प्रतिमूर्तिलाई मन्दिर वरिपरी घुमाइएको थियो। सामाजिक दूरी कायम गरेर केही निश्चित मानिसहरूको उपस्थितिमा भगवतीको पूजा गरिएको हो। मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रशासन, तानसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत केही संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा तान्त्रिक विधिबाट भगवतीको पूजा आराधना गरिएको उदयले बताए। 

जात्रामा सहभागी सबैले मास्क लगाएका थिए। वरिपरी रहेका घरहरूको छतबाट भगवतीको जात्रा हेर्नेको भीड नै देखिन्थ्यो। पानी परिरहे पनि उनीहरूले छाता ओढेर अवलोकन गरेका थिए। मन्दिर वरिपरिका गेटहरु बन्द  गरेर भगवतीको पूजा गरिएको थियो। विहान ७ बजे देखि ११ बजेसम्म सर्वसाधारणलाई पूजा गर्ने व्यवस्था मिलाइएको थियो।  विगतका वर्षमा भने बाजागाजासहित हजारौ मानिसहरूको उपस्थितिमा भगवतीको रथ यात्रा तानसेन बजार परिक्रमा गराइन्थ्यो। यो वर्ष बलि समेत दिइएन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.