|

जाजरकोट : भेरी नगरपालिका-४ रानागाउँका यादव विकले दल्लीमा आफन्त पुर्‍याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्‍यो। 

खोलाको भङ्गालो छिचोलेर एक्लै पारी जान नसकेपछि उनले स्थानीयवासीलाई एक हजार रुपैयाँ तिरेर र मोटरसाइकल तारे। दल्लीबाट फर्कँदा सोही खोला तर्न फेरि स्थानीयको सहयोग चाहियो र थप एक हजार तिर्नुपर्‍यो। 

दल्लीसम्मको ३५ किलोमिटर सडकमा अहिले जीपमार्फत यात्रा गर्दा पनि एक हजार भाडा तिर्नुपर्छ। पानी परेका कारण ठाउँ-ठाउँमा बाटो भत्किएको भन्दै ४०० रुपैयाँ लिने गरिएको यो सडकखण्डमा चल्ने सवारीसाधनका चालक र सहचालकले जनही एक हजार रुपैयाँ भाडा असुल्छन्‌।

खोला बढ्नासाथ बाँके खोलाको दुई किनारामा जिपहरू राखिएको हुन्छ। सोही दुई किनारका जिपहरूमा काठको लाप्कोको सहयोगमा खोला पार गरी पारीपट्टी रहेको अर्को जिपमा बसेर यात्रा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका-८ का विष्णुकुमारी खत्री बताउँछन्‌। वर्षेनी यो ठाउँमा खोलाले दु:ख दिने गरेको छ। सोमबार पनि सोही खोलामा मालबाहक ट्रक फस्दा यातायात सेवा थप ठप्प भएको छ। 

जाजरकोट-डोल्पा सडकखण्डमा १२ वटा खोला रहेका छन्। सबै खोलामा पुल निर्माण गरिएको छैन। पुल निर्माण नहुँदा सोही खोलालाई देखाएर यातायात व्यवसायीले मनलाग्दी भाडा बढाएका छन्। मोटरसाइकल तार्नका लागि प्रतिखोला एक हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ।

खोलामा पानीको बहाव बढेसँगै यस क्षेत्रमा खच्चड समेत हिँडाउने गरिएको छैन। ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको खच्चड व्यवसायी मानबहादुर विक बताउँछन्‌। स्थानीयवासी कमल पुन भन्छन्‌, 'यो खोलामा आफूले थाहा पाउदा सम्मा ७ जना बगेर मृत्यु भइसक्यो, अझै कतिले ज्यान गुमाउनुपर्ने हो, थाहा छैन।' 

बाँके खोलामा पुल निर्माण थालिएपनि काम पूरा नहुँदा सर्वसाधारणले दु:ख पाउँदै आएका छन्। रुकुम पश्चिम, जाजरकोट र डोल्पाका सर्वसाधारणहरु यही खोला तरेर यात्रा गर्दछन्। वर्षायाममा खोलाको डर, हिउँदयाममा धुलाम्मे सडकका कारण मान्छे नचिनिने अवस्था हुन्छ। १५ वर्षसम्म सडकको स्तरोन्नती नहुँदा यात्रुहरुले पीडा भोग्नु परिरहेको छ। 

जाजरकोट-डोल्पा सडकखण्डमा यात्राभन्दा सास्ती बढी भोग्नुपर्छ। नलगाड नदी र झुर्मेखोलामा पुल निर्माण कार्य नहुँदा दल्लीबाट तल्लु बगरसम्म अर्को जिप चढेर यात्रा गर्नुपर्ने बाध्यता छ। नलगाड नदी सानो हुँदा काठको लाप्को तरेर जाने यातायातका साधनहरु नदीमा पानीको वहाव बढेसँगै यातायात आवागमन ठप्प हुने गर्छ।

धुर्मेखोलामा पानीको बहाव बढेसँगै सो ठाउँमा पनि जिपहरू तार्न नसकिएको चालक भीमबहादुर बुढाले बताए। खलंगा-पाँचकाटिया सडकखण्ड समेत अवरुद्ध भएको छ। यो सडक खण्डको गाराराँङ्सीमा पहिरोले सडक अवरुद्ध भएपछि एक महिनादेखि सवारीसाधन चलेका छैनन्‌।

अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायले चासो दिएका छैनन्। भौतिक पुर्वाधार कार्यालयले बल्लतल्ल कालीमाटी-बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्रसम्मको सडक मर्मत थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.