|

नेपालगञ्ज : कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नरैनापुरमा औलो संक्रमण फैलिएको छ। 

नरैनापुरमा मात्रै ४२ जनामा औलो रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। औलो रोग लामखुट्टेको टोकाइबाट सर्छ। समयमै उपचार हुन नसके संक्रमितको ज्यान नै जान सक्छ। 

लामखुट्टेको प्रकोप धेरै हुने भएकाले बाँकेको नरैनापुर औलो रोगको उच्च जोखिममा छ। हरेक वर्ष चैतदेखि असारसम्म नरैनापुरमा औलो रोगको प्रकोप देखिँदै आएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा नरैनापुरमा १५ जनामा औलो संक्रमण देखिएको थियो। चालु आर्थिक वर्ष २०७६/२०७७ मा नरैनापुरका ४२ जनामा औलोको संक्रमण देखिएको हो। साउन १ गतेदेखि हालसम्म नरैनापुरका थप ४ जनामा औलोको संक्रमण देखिएको छ।

कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष औलो रोगको परीक्षण एक तिहाई मात्रै भएपनि संक्रमितहरुको संख्या भने तीन गुणा देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी औलो फोकल पर्सन दुर्गा गौतमले बताइन। कोरोनाको जोखिम बढेपछि चैतदेखि असारसम्म नरैनापुरमा मात्रै भारतबाट एक हजार ३१३ युवा फर्किएका थिए।

ठुलो संख्यामा भारतबाट घर फर्किएका युवाहरुले औलोको संक्रमण पनि सँगै ल्याएको अनुमान स्वास्थ्यकर्मीहरुको छ। बाँके नरैनापुरको क्वारेन्टाइनमा बसेका एक जनामा औलोको संक्रमण देखिएको थियो। विदेशबाट नेपालमा भित्रने औलो संक्रमितमध्ये ९८ प्रतिशत भारतबाट आउने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ। 

कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण यो वर्ष चैतदेखि हालसम्म लाखौंको संख्यामा युवाहरु भारत लगायत तेस्रो मुलुकबाट नेपाल फर्किएका थिए। औलोको संक्रमण पनि महामारीको रुपमा फैलनसक्ने जोखिम रहेको सेभ द चिल्ड्रेनका औलो निगरानी, संयोजक डा. मदन कोइरालाले बताए। बाँकेको नरैनापुरमा गरीब तथा विपन्न समुदायको बसोबास छ। ३१ प्रतिशत मात्रै साक्षरता भएको नरैनापुरमा स्वास्थ्यसम्बन्धी सचेतनाको अवस्था निकै नाजुक छ। 

लामखुट्टेको प्रकोप धेरै हुने क्षेत्रका मानिसहरुलाई औलो रोगको जोखिमबाट जोगाउनका लागि लामुखुट्टेको टोकाइबाट बचाउनुपर्छ। लामखुट्टेको टोकाइबाट जोगाउने सबैभन्दा सहज र प्रभावकारी उपाय भनेको झुल टाँगेर सुत्नु नै हो। सेभ दि चिल्ड्रेनले स्वास्थ्य कार्यालय बाँकेसँग समन्वय गरेर औलो रोगको उच्च जोखिममा रहेको नरैनापुरका बासिन्दाहरूलाई झुल वितरण गर्दै आएको छ। 

संक्रमणको उच्च जोखिम भएको नरैनापुर गाउँपालिकाको कालाफाँट गाउँमा यो वर्ष ६२८ घरगोठमा लामखुट्टेनाशक विषादी छर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। स-साना कच्ची घरमा बस्ने विपन्न परिवारका बालबालिका तथा वृद्ध-वृद्धा औलोको उच्च जोखिममा छन्।

स्वास्थ्य मन्त्रालयको सरुवा रोग नियन्त्रण महाशाखाले सन्‌ २०१३ मा गरेको एक अध्ययनअनुसार बाँकेलगायत देशभरका २५ जिल्लाका करिब १ करोड ३६ लाख ३७ हजार जनता औलोलगायत लामखुट्टेको टोकाइबाट सर्ने रोगहरुको उच्च जोखिममा रहेका छन्‌। गत वर्ष नेपालमा १ हजार ६५ जनामा औलो संक्रमण भएको थियो।

सन् २००६ मा बाँके जिल्लाको नरैनापुरमा कडा खालको औलो संक्रमण फैलँदा ३६ जनाको ज्यान गएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.