स्वास्थ्यकर्मी धमाधम बिरामी, ढोकैमा आइसक्यो संकट

|

काठमाडौं :  माघको पहिलो सात चीनको बुहानबाट आएका नेपाली विद्यार्थीमा पहिलो पटक देखिएको  कोरोना भाइरस ( कोभिड-१९) बाट संक्रमित हुने संख्या २३ हजार भन्दा बढि भइसकेको छ।

अझै पछिल्लो समय लक्षणसहितका संक्रमणले धेरै मानिसको बसोबास हुने  काठमाडौं उपत्यका सहित अन्य जिल्लाहरुमा समेत कोभिड समुदायस्तरमा पुगिसकेको अनुमान गरिएको छ।

संक्रमण धेरै देखिने थालेपछि झन् बढ्ने भन्दै सरकारलाई अझै बलियो तयारी गर्न आग्रह गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण बढ्ने र संक्रमितहरुको स्वास्थ्य अवस्था अनुसार उपचार गर्न लेभल-१, लेभल-२ र लेभल-३ गरी देशभर २८ अस्पताललाई हब अस्पतालका लागि छुट्याएको छ।

विरामीको लक्षण र अवस्था हेरेर कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने अस्पतालहरू छुट्याइएको हो। अति विशेषज्ञता सम्पन्‍न भनेर लेभल-१ र लेभल-३ गरी छुट्याइएका यी अस्पतालमा कोभिड-१९ संक्रमित देखिँदा अस्पतालहरू नै संक्रमणले थला पर्न थालेका छन्।  

 हाल लक्षणसहितका संक्रमित बढ्दै जाँदा ठूला अस्पतालमा नै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको छ। त्यसले अस्पतालको सेवा नै प्रभावित हुँदै गएको छ। जसले गर्दा कोभिडबाहेकका अन्य इमर्जेन्सी उपचार पाउनबाट बिरामीहरु बन्चित भएका छन्। 

पछिल्ला केही  दिन यता देशका केन्द्रिय स्तरका ठूला सरकारी अस्पतालका सेवा प्रभावित भएका छन्। विशेषगरी चिकित्सक तथा नर्समा समेत संक्रमण देखिएका कारण ठूला सरकारी अस्पताल वीर, त्रिवि शिक्षण र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा प्रभावित छन् ।

सरकारी क्षेत्रको जेठो तथा ठूलो अस्पताल वीरको रेडियोलोजी विभागका  एक चिकित्सकमा संक्रमण देखिएपछि विभाग नै सिल गरिएको छ। चिकित्सकीय उपचारमा रोग निधान गर्न रेडियोलोजी सेवाको महत्वपूर्ण भूमिका हुन्छ।

हाल रेडियोलोजी सेवा बन्द हुँदा वीर अस्पतालमा सेवा दिन जाने बिरामीहरु मर्कामा परेको पाइन्छ। अस्पतालमा कार्यरत चिकित्सकहरुले भने कोभिडको रोकथामको उपाय अवलम्बन गर्दा गर्दै पनि संक्रमण रोक्न नसकेको बताएका छन्। ‘सकेसम्म संक्रमणलाई रोकथाम गर्न भरपूर्ण प्रयास गरेका छौँ तर गर्दा गर्दै पनि भएको छैन जसले गर्दा सेवा नै प्रभावित हुन पुगेको हो', उनले भने। 

त्यसैगरी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षका  दुई चिकित्सक र चार नर्समा संक्रमण पुष्टि भएपछि बुधबारदेखि आकस्मिक सेवा नै बन्द भएको छ। शुक्रबार बिहान  थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो। दुईजना नर्स, एक चिकित्सक र एटेडेण्डेसलाई कोरोना भएको छ। त्यस्तै दिउँसो चारजनालाई संक्रमण पुष्टि भएको छ। 

नर्सिङ स्टाफ र चिकित्सकमा लक्षणसमेत देखिएपछि अन्य स्वास्थ्यकर्मीमा पनि सरेको हुनसक्ने डरले आकस्मिक सेवा प्रभावित भएको अस्पतालले जनाएको छ। शिक्षण अस्पताल स्रोतका अनुसार संक्रमण देखिएका बाहेक आकस्मिक कक्षमा कार्यरत अन्य धेरै स्वास्थ्यकर्मीलाई समेत ज्वरोसहितको लक्षण देखिएको छ। अस्पताल स्रोतले भन्यो, 'आकस्मिक कक्षमा कार्यरत रहेका अन्य नर्स तथा चिकित्सकहरूमा  समेत ज्वरो रुघा लाग्ने लक्षण देखिएका छन्। यसले गर्दा संक्रमण अझै बढ्न सक्छ।' 

यस्तै पूर्वकै सुविधा सम्पन्न मानिएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि  अनिश्चितकालका लागि ओपिडी सेवा बन्द गरिएको छ।

प्रतिष्ठानले कोभिड–१९ संक्रमण बढेको भन्दै बुधबारदेखि बहिरंग सेवा बन्द गरेको थियो। जिल्ला प्रशासनको निषेधाज्ञा र धरान उपमहानगरपालिकाको लकडाउनलाई मध्यनजर गर्दै सेवा बन्द गरिएको अस्पतालका प्रवक्ता दिनेश सापकोटाले बताए। प्रतिष्ठानमा हालसम्म ११ जनामा संक्रमण पुष्टि भएको छ। हाल प्रतिष्ठानमा १ सय २ संक्रमितको उपचार भइरहेको छ।

मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले भने संक्रमण देखिएका स्थानको निर्मलीकरण गर्नको लागि अस्पतालहरूको निश्चित ठाउँको सेवा सिमित समयको लागि प्रभावित हुनु स्वभाविक भए पनि लामो समय हुन नहुने बताउँछन्।

‘अस्पताल भनेको एकदमै संवेदनशील क्षेत्र हो। संक्रमण देखिनेवित्तिकै त्यहाँका सम्पूर्ण उपकरणको राम्रोसँग निर्मलीकरण गर्नु पर्ने हुन्छ। नत्र पुन संक्रमण फैलिने जोखिम हुन्छ, त्यसले केही समय सेवा प्रभावित हुनु स्वभाविकै हो', उनले भने। 

काउन्सिलका रजिस्ट्रार डा. अधिकारीका अनुसार संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु नै जोखिममा हुने भएकाले भविष्यमा धेरै संक्रमण फैलिएको अवस्थामा संक्रमितको उपचारको लागि  चिकित्सकहरुको अभाव हुन नदिन सबै अस्पतालहरुले पालैपालो सेवा दिनु पर्ने बताए।

यता अस्पताल सिल नै गर्नुपर्ने र अस्तव्यस्त वातावरण सिर्जना हुनु भनेको कोभिड-१९ का संक्रमितहरु आउलान् भनेर पूर्वतयारी नगर्नुको परिणाम रहेको विज्ञहरु बताउँछन्। एउटा संक्रमण देखिनासाथ अस्पतालका सबै सेवा बन्द गरेर सिल गर्ने परिपाटीले कोरोनाभन्दा अन्य रोगका बिरामीहरुलाई बढी मार पर्ने विज्ञहरुले बताउदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.