जलविद्युतको सुरुङ खन्दा हल्लिएको थियो जमिन

|

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा शुक्रबार बिहान झरेको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर ध्वस्त बनाएको छ। पहिरोमा परेर ९ जना घाइते भएका छन्। 

केही घाइतेको उद्धारपछि काठमाडौँ र चौतारा अस्पतालमा उपचार भइरहेको छ। पहिरोका कारण ३७ घर ध्वस्त भएका जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन्। 

बस्ती सारिदिन भनेका थिए

पहिरो गएको क्षेत्र जोखिमपूर्ण रुपमा बाध्य भएर स्थानीयले बसोबास गर्दै आएका थिए। गत साउन २३ गते त्यही ठाउँका बासिन्दाले गाउँ जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएका थिए। 

बस्ती जोखिममा रहेको भन्दै स्थानीयले स्थानान्तरणका लागि माग गर्दासमेत विपद् व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले चासो नदिएको स्थानीय आशबहादुर तामाङले बताए।

'हामीले पहिल्यै बस्ती जोखिममा रहेको भनेर प्रशासनमा स्थानान्तरण माग गरेका थियौँ', उनले भने, 'तर जिम्मेवार निकायको ढिलासुस्तीले यस्तो विपत्ति खेप्नुपरेको छ।'

उनले सरकारले बेलैमा चासो दिएको भए यो विपत्ति नआउने बताए। 'हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उनले भने, ‘उनीहरुले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षती हुने थिएन।’
 
२६ मेगावाटको 'बलेफी ए हाइड्रोपावर'को सुरुङ निर्माणको क्रममा विस्फोटन गर्दा जमिन हल्लिँदा पहिरो गएको पेशलाल दोङले बताउँछन्। 

‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घर जोखिममा परेको बताएका थियौं’, उनले भने, सुरुङ निर्माण गर्दा बस्ती नै जोखिममा परेको थियो। र, आज विपत्ति निम्तियो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.