|

झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार नागरिकप्रति पूर्वाग्रही बनेको आरोप लगाएका छन्। अहिलेको सरकारले नेपाली जनताको नभई कम्युनिस्ट कार्यकर्ताहरुको मात्र संरक्षण र सुरक्षा गरेको उनको आरोप छ।

शुक्रबार गृह जिल्ला झापाको क्षेत्र नं ५ मा पर्ने कमल गाउँपालिकामा नवप्रवेशीहरुको स्वागत तथा अगुवा कार्यकर्ताका भेटघाटमा सिटौलाले यस्तो बताएका हुन्। कोरोना महामारीको समयमा समेत राहत र उद्धारमा पनि सरकार पूर्वाग्राही बनेको उनको भनाइ छ। सरकारको ३ वर्षको कार्यकाल व्यर्थैमा बितिरहेको भन्दै उनले यो अवधिमा सरकारले नागरिकलाई के दियो भन्ने प्रश्नको उत्तर पनि नरहेको तर्क गरे। 

महाधिवेशनप्रति आशंका

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका नेता सिटौलाले आफ्नै पार्टीको महाधिवेशनप्रति भने आशंका व्यक्त गरे। १३ औं महाधिवेशनसम्म कुनै समस्या नरहेको पार्टीमा आसन्न १४ औं महाधिवेशनप्रति भने केन्द्रस्तरमा प्रशस्त आशंकाहरु उब्जिन थालेको संकेत गरे। 

महाधिवेशन कार्यतालिका अनुसार यही फागुनमा हुनुपर्ने १४ औं महाधिवेशन विविध कारणले वैशाखसम्म सर्न सक्ने तर त्योभन्दा पछि लगिए आगामी २०७९ मा हुने निर्वाचनका लागि समय अपुग हुने सिटौलाको भनाइ छ।

सरकारविरुद्ध १४ औं महाधिवेशनपछि कांग्रेसले नयाँ संघर्षको थालनी गर्नुपर्ने भन्दै उनले त्यसका लागि एकताबद्ध र बलियो कांग्रेसको आवश्यकता रहेको पनि बताए। 

१७० जना कांग्रेस प्रवेश 

कांग्रेस कमल गाउँ समितिका सभापति खगेन्द्र भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा १७० जना प्रवेश गरेको सो पार्टीले जनाएको छ। नवप्रवेशीलाई नेता सिटौलाले पार्टी सदस्यता प्रदान गरेका थिए। उनीहरुलाई जिल्ला सभापति उद्धव थापासहित जिल्ला तथा स्थानीय स्तरका नेताहरुले स्वागत गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.