समयमा मल नपाउँदा धान उत्पादन आधाले घट्ने

|

सिमरा : बारा रजगट्टाका कृषक भरत खड्काले यस वर्ष पनि २ बिघा धान खेतमा कालोबजारीसँग खरिद गरेर महँगोमा किनेर मल हाले। ३ साताअघि उनले प्रतिकेजी ३२ रुपैयाँमा तिरेको युरिया मल अहिले ४५ रुपैयाँ पुगेको छ।

‘हामीले यस वर्ष पनि ब्याल्कमा मल किन्यौं, बोर्डरबाट साइकल, मोटरसाइकलमा बेच्न ल्याउँछन्, उनीहरुसँगै किनें मैले’, कृषक खड्काले भने, ‘प्रतिबोरा ९ सय रुपैयाँ पर्ने युरिया मल ३ साताअघि १४ सय तिरें, अहिले त्यसको मूल्य २ हजार नाघेको छ।’

खड्का जस्तै बाराका कृषक कालोबजारी गर्नेसँग चर्को मूल्यमा मलखाद किन्न बाध्य भएका छन्। त्यही पनि समयमै पाउँदैनन्। जसका कारण उत्पादन घट्ने मात्रै नभएर धानमा अनेकौ रोग्न थालेकपछि किसान हैरान भएका छन्। 

‘गत वर्ष त फाटफुट पाइन्थ्यो, यस वर्ष डिएपी, युरिया र पोटास ३ थरी मल कालोबजारीमा किन्नुपर्यो’, उनले भने। सरकारले कृषि संस्थान र साल्ट ट्रेडिङमार्फत ल्याउने अनुदानको मल समयमै नपाउँदा बाराका कृषक छिमेकी मुलुक भारतबाट आउने तस्करका मल लिन बाध्य भएका हुन्। 

‘हामीलाई प्रतिकठ्ठा २ देखि अढाई किलोको दरले धानबालीमा २ पटक युरिया मल आवश्यक पर्छ, सरकारी निकायबाट मल नपाएपछि तस्करीकै मल चर्को मूल्यमा किन्ने गरेका छौं,’ खड्का दुख सुनाउँछन्। 

समयमै युरिया र डिएपी मल नपाउँदा धान पहेँलो हुने, गभारो, खैरे रोग लाग्ने गरेको जितपुरसिमरा उपमहानगर–१४ का अर्का कृषक प्रदीप बरालले बताए। बारामा ६९ हजार ५ सय १६ हेक्टर कृषि भूभाग रहेको छ। जसमध्ये ५५ हजार ४सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको ४ वर्षअघिको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

सन् २०१६ मा बारामा १ लाख ४३ हजार ९ सय मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्यांक छ। कृषि  अनुसन्धान निर्देशनालयले यस वर्ष बारामा ९९ प्रतिशत धान रोपाइँ भएको जनाएको छ। 

सरकारले धानबालीलाई मुख्य खाद्यबालीको रुपमा वर्गीकरण गरे पनि कृषकहरु भने बर्सेनि समयमै बिउ, मल र उत्पादनको उचित मूल्य नपाएर आजित भएका छन्। 

समयमै मल नपाउँदा उत्पादन ५० प्रतिशत घट्ने आकलन

कृषि अनुसन्धान निर्देशनालय प्रदेश २ परवानीपुर बाराका धान विशेषज्ञ राजेन्द्र यादवले यस वर्ष पनि धानबाली हाल्न किसानले समयमै मलखाद नपाएकाले उत्पादन ५० प्रतिशतले घट्ने अनुमान गरेका छन्। 

‘धानका लागि मुख्यगरी नाइट्रोजन, फोस्फोरस, पोटास र जिन्क तत्व अतिआवश्यक पर्छ, यी तत्वहरु युरिया, डिएपी र पोटासबाट बिरुवाले पाउँछन्, समयमै यी तत्व धानले पाएन भने उत्पादन ५० प्रतिशतले घट्छ।’

बाली विशेषज्ञ यादवका अनुसार कृषकका लागि धान रोप्ने समयमा प्रतिकठ्ठा साढे २ केजी युरिया, ३ केजी डिएपी, २ केजी पोटास र साढे १ केजी जिन्क आवश्यक पर्छ।
 
८ सयको मललाई दुई हजार तिर्न बाध्य छन् किसान

बाराको जितपुरसिमरामा दुई हजार रुपैयाँ पर्ने ४५ केजीको युरिया मल भारतबाट नेपाली व्यापारीले ८ सय रुपैयाँमा तस्करसँग तिरेर ल्याउने गरेका सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी बताउँछन्। 

सीमा क्षेत्रको भित्री गाउँगाउँबाट साइकल र मोटरसाइकलमा दैनिक ६० देखि ७० बोरा मल नेपाल आउने गरेको उनीहरु बताउँछन्। उनीहरु भन्छन्, ‘हामीले पनि २÷३ बोरासम्म ल्याउनेलाई छोडिदिने गरेका छौं।’ सिम्रौनगढ सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले भन्छन्, ‘सीमामा ५० केजीको मल नेपाली ८ सय रुपैयाँ पर्छ भारतीयले टाउकोमा बोकेर सीमासम्म ल्याएको २ सय रुपैयाँ लिने गर्दछन्’, उनले भने। सरकारले कोरोना महामारी फैलन नदिन लकडाउन जारी गरे पनि भारतीय आफन्त तथा व्यापारीसँग मिलेर सीमा क्षेत्रका भित्री गाउँबाट दैनिक रुपमा व्यापारीले मल ल्याउने गरेका र चर्को मूल्यमा बेच्ने गरेका छन्। 

जिल्लाको  दक्षिणी भेगको मुख्य बजार मानिने सिम्रौनगढ, पिपरपाती, बेलदारी, कबहीगोठ, बरनियालगायत छिमेकी जिल्ला रौतहटबाट बाराको उत्तरी भेगमा मलखाद आउने गर्दछ।

बाराका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुर्दशन अर्यालले किसानको हकमा १÷२ बोरा मल ल्याउन छुट दिए पनि ठूलो परिमाणमा ल्याउनेलाई कारबाही गर्ने गरेको बताए। 

हप्ता १० दिनमा मल आउँछ : साल्ट ट्रेडिङ ​

साल्ट ट्रेडिङ वीरगन्जका प्रमुख आमोद लामिछाने लकडाउनका कारण भारतको कलकत्तामा अड्किएको मल भदौ १० भित्र नेपाल आउने दाबी गर्छन्। ‘मलखाद तेस्रो मुलुकबाट हामी कहाँ आउँछ, यसपटक लकडाउन र लगातार परेको पानीका कारण मल कलकत्तामा रोकिएको छ,’ उनले भने।  कृषि मन्त्रालयले ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत साल्ट टेडिङमाफर्त अनुदानमा मल किनेर कृषि सहकारी मार्फत वितरण गर्ने गर्दछ। 

साल्ट टेडिङ वीरगन्जले देशभरका १८ वटा जिल्लाका कृषि सहकारीमार्फत मलखाद वितरण गर्ने गरेको छ। जसमा पर्साका ७० र बाराका ७१ ओटा कृषि सहकारी संस्था रहेका छन्। 
हाल सरकारी अनुदानको ५० केजीको युरिया मलको मूल्य ७ सय रुपैयाँ सोही तौलको डिएपी र पोटासलाई कम्रशः २१ सय ५० र १५ सय ५० रुपैयाँ पर्छ।

सरकारले विभिन्न बहाना बनाएर बर्सेनि समयमै मल ल्याउन नसक्ने र ल्याइहाले समय गुज्रिसकेपछि मात्रै आउने कारण पनि किसान कालोबजरीसँग चर्को मूल्यमा किन्न विवश छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.