|

सिन्धुली : कोरोना भाइरस संक्रमितको दर बढ्न थालेसँगै सिन्धुलीको स्थानीय तहहरुले धमाधम अत्यावश्यकबाहेकका सेवा बन्द गर्न थालेका छन्। अहिलेसम्म दुई नगरपालिका र दुई गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेका छन्। 

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा र पसल एक साता देखि १५ दिनसम्म बन्द गरेका छन्। संक्रमण समुदायमा फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन कमलामाई नगरपालिकाले एक साता सटडाउन गरेको हो। नगरपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरुको अत्यावश्यकबोहकका सबै सेवाहरु गत साउन २७ गते राति १२ बजेदेखि एक साताका लागि बन्द गरिएको नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए।

एक सातासम्म औषधि, दूध पसल, एम्बुलेन्स, दमकल, सरसफाई व्यवस्थापनबाहेकका सबै सेवाहरु बन्द गरेको नगरप्रमुख खत्रीले बताए।

‘कोरोनाको संक्रमण बढ्दै गएपछि सदमरमुकाम समेत रहेको यस नगरपालिकामा कोरोनाको जोखिम बढ्दै गएको छ,’ उनले भने, ‘कोरोना संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न पहिलो चरण्मा एक साताको सटडाउन लागु गरिएको छ। अवस्था हेरेर यो बन्दाबन्दी थप गर्नुपर्ने आवश्यकता पर्न सक्छ।’ नगरप्रमुख खत्रीका अनुसार नगर क्षेत्रका मुख्य राजमार्गबाहेकका सबै सिमानाका सडकहरु पूर्णरुपमा बन्द गरिएको छ। विपी राजमार्गमा सञ्चालन हुने अत्यावश्यकीय सवारी साधनमा पनि नगरपालिका क्षेत्रभित्र रोक्न, यात्रु चढाउन र ओराल्नका साथै होटल समेत प्रयोग गर्न रोक लगाइएको नगरप्रमुख खत्रीको बताए।

यस्तै, सुनकोशी गाउँपालिकाले शुक्रबार राति १२ बजेदेखि आगामी भदौ १३ सम्म अत्यावश्कबाहेकका सेवा बन्द गरेको छ। गाउँपालिका गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले भदौ १३ म्म गाउँपालिका र मातहतका सबै कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको उपाध्यक्ष दिर्वसिङ मुक्तानले जानकारी दिए। 

‘गाउँपालिकाको विद्यालयमा कार्यरत सिराहाका एकजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गराएका हौं,’ उपाध्यक्ष मुक्तानले भने, ‘विद्यालयमा कार्यरत शिक्षक लकडाउनको समयमा घर जानुभएको थियो। बैकल्पिक माध्यमबाट पठनपाठन गर्ने भएपछि उहाँ विद्यालयमा फर्किनुभएको थियो। शिक्षक घरबाट आएपछि क्वारेन्टाइनमा बस्नुभएको थियो। क्वारेन्टाइनमा बस्दा पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको छ।’

यस्तै, कमलामाई, तीनपाटन, फिक्कललगायतका छिमेकी स्थानिय तहहरु र छिमेकी जिल्लामा समेत कोरोनाको संक्रमण फैलिरहेकाले दुधौलीमा पनि संक्रमण फैलिन सक्ने भन्दै अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ। दुधौली नगरपालिका क्षेत्रमा साउन ३० देखि भदौ ६ सम्म अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरिएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए। सीमा नाकामा कडाई, माक्स प्रयोगमा अनिवार्य गराउने, जमघट वा भीडभाड हुने खालका क्रियाकलाप गर्न नगरपालिकाले निषेध गरेको छ।

समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन बिहान १० बजेसम्म पसलहरु सञ्चालन गर्न पाइने र बिहान १० बजेपछि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलहरु पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको नगर प्रमुख राउनले बताए। 

गोलञ्जोर गाउपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि भदौ ५ सम्म अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ। वडा नम्बर ५ का एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले अत्यावश्कबाहेकका सबै सेवा एक सातासम्मका लागि बन्द गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.