प्रशासनमा उजुरी, सत्यतथ्य छानबीन गर्न माग

|

डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ६ मा सञ्चालित तीनवटा विकास योजनामा व्यापक घोटाला भएको भन्दै छानबिन माग गरिएको छ।

उक्त विकास योजनाहरूमा चरम भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरूले जिल्ला प्रशासन कार्यालय डोल्पामा योजनाको नाम र रकमसहित उजुरी दर्ता गर्दै सत्यतथ्य छानबिनको माग गरेका हुन्।

उपभोक्ता समितिमा सोझा-साझा सर्वसाधारणलाई राखेर उनीहरूको सोझोपनको फाइदा उठाउँदै तीनवटा विकास योजनामा जिल्ला वन डिभिजन कार्यालयका कर्मचारी र वडाका जनप्रतिनिधि मिलेर योजनाको लाखौँ रकम दुरुपयोग गर्ने गरेकाले उजुरी दर्ता गरिएको युवा अभियानका अभियन्ता सुमन बुढाले बताए।

तामाचौर हुँदै सुनदहसम्म पुग्ने पर्यटन पदमार्गको कुल बजेट २० लाख रुपैयाँ रहेको, कार्यालयबाट सबै रकम भुक्तानी भइसकेको, तर गाउँलेलाई एक रुपैयाँ पनि भुक्तानी नगरेको युवाहरूले बताएका छन्‌। 

'त्यसैगरी जैरीताल संरक्षणको २० लाख रुपैयाँ बजेटमध्ये ४ लाख ८८ हजार रुपैयाँमात्र उपभोक्ता समितिलाई उपलब्ध गराइएको छ, बाँकी १४ लाख १२ हजार रुपैयाँको कुनै हिसाब किताब छैन,' बुढाले भने, 'अर्को योजना अर्थात राधेबल पहिरो नियन्त्रणको २० लाख रुपैयाँमध्ये ८ लाख ३५ हजारमात्र दिइएको छ,बाँकी रकमको कुनै हर हिसाब देखाइएको छैन, तीन वटै योजनामा ठुलो रकम घोटाला गरिएको पाएका छौँ, त्यसैले छानबिनको माग गर्दै प्रशासनमा निवेदन दिएका हौँ।'

उल्लेखित तीनवटै योजना जिल्ला वन डिभिजन कार्यालयबाट सञ्चालित योजना हुन्। 'यी विकास योजनामा भएको अनियमितता र उदाहरण मात्र हो, वडामा अन्य दर्जनौं विकास योजनामा खुलेआम भ्रष्टाचार भएको छ, ती कुराहरू पनि बिस्तारै बाहिर ल्याउँछौँ,' बुढाले भने। 

जैरीताल संरक्षण समितिका अध्यक्ष नदे बुढाले धेरै-थोरै रकम जिल्लाका विभिन्न कार्यालयलाई दिएको स्वीकार गरेका छन्‌। योजनाका रकमका विषयमा आफुलाई त्यति जानकारी नभएकाले सम्पुर्ण जानकारी दिन सचिवलाई भर्खरै सम्पर्क गराउने बताएका उनले फोन स्वीच्ड अफ गरेका छन्‌।

​यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले निवेदनमा उल्लेख भएअनुसारका तीनवटै योजनाको छानबिन प्रक्रिया थालिएको र कागजपत्र झिकाउने काम भइरहेको जानकारी दिए। 'सत्यतथ्य छानबिनका लागि,योजनाहरुको स्थलगत पनि गर्छौं, दोषी देखिए कारवाहीको लागि सिफारिस पनि गर्छौ,' प्रजिअ सुनारले भने। 

तीनवटै उपभोक्ता समिति र डिभिजन वन कार्यालयलाई लिखित पत्र काटेर योजनाका विषयमा जानकारी लिने समेत उनले बताएका छन्‌।

युवाहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.