स्थानीय तहको लापरबाही कोरोना जोखिम बढ्दै गएको हो ट: प्रमुख जिल्ला अधिकारी

|

सिमरा : दिनभर हजुरआमाको काखमा लुटुपुटु गर्ने, साथीभाइसँग खेलेर दिन बिताउने विकल्प खत्रीको दिनचर्या २ सातादेखि कोठाभित्रै सीमित छ। ‘घरीघरी मोबाइलमा भुलाउँछु, मन लाग्यो भने टिभी हेर्छ’, आमा उमा भन्छिन्। 

बारा सिमराका २ वर्षे विकल्पलाई कोरोना संक्रमण पुष्टि भएपछि आमा बुवासँगै उनी होम आइसोलेसनमा बस्दै आएका छन्। ‘खेलिरहने, डुलिरहेने बच्चालाई नियन्त्रणमा राख्न साह्रै गाह्रो भएको छ, हजुरआमालाई १ छिन छोड्दैनथ्यो अहिले कोठाभित्र एक्लै बसिरहँदा निराश भएजस्तो हुन्छ, खाली भर्‍याङबाट तल उत्रिनी भन्छ’, विकल्पसँगै आमा र बुवालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि ३ जना परिवार घरको माथिल्लो तलामा बस्दै आएका छन्। 

हजुरबुवा र हजुरआमा भुइँ तलामा बस्छन्। ‘खेलौना खेलाएर, खानेकुराले भुलाएर, टिभी देखाएर कन्ट्रोल गरिराछु’, आमा भनिन्। २ साताअघि सामान्य रुघाखोकीको समस्याका देखिएर परिवारका ६ जनाको पिसिआर परीक्षण गर्दा विकल्पसहित उनका आमा र बुवा विष्णुमा पनि संक्रमण पृष्टि भएको हो। 

‘घरमै बस्दा समयमै तातोपानी खाना खान पाइने, सरसफाइ पनि हुने’, विष्णुले भने। कलैयास्थित गंगापुर आइसोलेसनमा चरम लापरबाही भएको भन्दै सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना भएपछि हाल अधिकांश संक्रमित घरमै बस्दै आएका छन्। 

बारा जितपुरसिमरा उपमहानगर–१ का मात्रै १२ जना संक्रमितहरु घरमा बसेका छन्। ‘कलैयाको आइसोलेसनमा तातोपानी पनि खान दिँदैनन्, शौचालयका लागि पनि लामो लाइन बस्नुपर्छ, जताततै फोहर हुन्छ, १ बोतल खानेपानीले ३ दिन पु¥याउनुपर्छ भनेर दिदीले भनेकाले हामी घरमै बसेका हौं,’ सिमराकै अर्का संक्रमित वीरबहादुर थापाले भने। 

परिवारका ४ जनामा कोरोना भएपछि ३ जना घरमै बस्दै आएका छन् भने १ जना गंगापुर आइसोलेसनमा छिन्। कलैयाको आइसोलेसनमा कैदीलाई जस्तो व्यवहार गरिन्छ, नआउनू एउटै कोठामा ३÷४ जनालाई भेडाबाख्रा जसरी राख्छ, शौचालय लामो लाइन बस्नुपर्छ भनेकाले आफू घरमै बसेको थापाले बताए। 
‘आफ्नै घरमा बस्दा धेरै सजिलो हुँदो रहेछ, सरसफाइ हुने समयमै खानपिन पनि मिल्ने,’ उनले भने।  

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जेठ २० गतेदेखि लागु हुनेगरी ‘कोभिड १९ केसको आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका’ ल्याएको छ। जसमा सुरक्षित ढंगले घरमा बस्न चाहने संक्रमितले उपचार अवधिभर घर बाहिर निस्कन पाउने छैनन्, खानपानको व्यवस्थापन विशेष सावधानी अपनाउनुपर्नेछ, पर्याप्त मात्रामा पानी र झोलिलो अनि पोसिला खानेकुराहरु खाने, संक्रमितले  प्रयोग गर्ने स्नानघर/शौचालय, भाँडाकुँडालगायत अन्य आवश्यक सामग्री छुट्टै प्रबन्ध गर्ने र बेलाबेलामा डिसइन्फेक्टेट प्रयोग गरी नियमित सफा गनुपर्ने निर्देशिकामा उल्लेख छ। 

तर सक्रमितहरुले त्यसको पालना गरे÷नगरेको भने छिटफुटबाहेक अनुगमन हुने गरेको छैन। जितपुरसिमरा १ का वडासदस्य रामचन्द्र लामाले होम आइसोलेसनमा बसेका संक्रमितले सरकारी मापदण्डहरु पूरा गरे-नगरेको आफूले अनुगमन गरिरहेको बताए। ‘संक्रमितले अलग्गै कोठा, भाँडाकुँडा, शौचालय, अन्य सामग्री प्रयोग गर्ने गरेका छन्, हामीले घरबाहिर निस्किएका छन्/ छैनन्। 

अनुगमन गर्ने स्वास्थ्य समस्या देखिए स्वास्थ्यकर्मीसँग सम्पर्कसमेत मिलाइदिने गरेका छौं,’ लामाले भने।  पछिल्लो समय होम आइसोलेसन बस्ने प्रचलन बढेपछि सिमरा आसपास क्षेत्रमा संक्रमितलाई समाजमा गर्ने व्यवहारमा समेत परिवर्तन भएको छ। 

‘पहिला त हामीलाई समाजमा अपराधीलाई जस्तो व्यवहार हुन्थ्यो, घरको वरपर बाटो भएर कोही हिँड्थेनन्, अहिले छिमेकीले पनि टाढैबाट कुराकानी गर्छन्, स्वास्थ्य समस्याबारे सोध्दा साह्रै खुसी लाग्छ’, सिमराका अर्का संक्रमित शंकर खत्रीले भने। 

सोमबार बिहानसम्म बारामा संक्रमण पुष्टि भएका ४ सय ७५ जना  मध्ये ६५ जना मात्रै सरकारी आइसोलेसनमा रहेका अन्य सबै आफ्नै घरमा बसेका बारा जिल्ला स्वास्थ्य प्रमुख रामनरेश यादवले जनाएका छन्। 

तर घरमा बसेकाहरुको अवस्था कस्तो छ भन्नेमा आफूहरुलाई जानकारी नभएको र अरुको घरभित्र पसेर हेर्न नमिल्ने प्रमुख यादवले बताए। स्थानीय तहले समयमै आइसोलेसन वार्ड निमार्ण नगर्दा संक्रमणको जोखिम झनै बढ्दै गएको यादवले जनाए। ‘यदि एउटै पालिकाले बनाउन सक्दैन भने २/३ ओटा पालिका मिलेर संयुक्त लगानीमा पायक पर्ने ठाउँमा आइसोलेसन बनाउँदा कम खर्चिलो र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न पनि सजिलो हुन्छ’, उनले भने।

बारामा दैनिक ६० देखि १ सयको हाराहारीमा स्वाब संकलन भइरहेका छन्। संक्रमण पुष्टि भएकाहरु मध्ये अधिकांश कन्ट्याक्क टे«सिङमा परेका जनाइएको छ।

प्रत्येक दिन स्वास्थ्यकर्मीको  निगरानी हुनुपर्छ 

बाराको जितपुरसिमरामा मात्रै सोमबारसम्म झण्डै ४० जना घरमै आइसोलेट भएका छन्। सरकारी आइसोलेसन केन्द्रमा चरम लापरबाही हुने र झनै रोग फैलन सक्ने भन्दै  संक्रमितहरु बाध्य भएर घरमा बसेको पाइएको छ।

‘संक्रमित होम आइसोलेसन बस्नुअघि बसेका ठाउँ कस्तो छ स्वास्थ्यकर्मीले हेरेर मूल्यांकन गर्नुपर्छ तर हामीकहाँ आफूखुसी होम आइसोलेसनमा बसेको पाइएको छ’,जितपुरसिमरा स्वास्थ्य संयोजक बाबुलाल सहनीले भने, ‘स्वास्थ्यकर्मीको निगरानीबिना आफूखुसी घरमा बस्दा  परिवारका अन्य सदस्यमा संक्रमणको जोखिम झनै बढ्न सक्छ।’

संक्रमित घरमा बस्दा दैनिक  कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेर्कड राख्ने,हरेक दिन २ पटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्वन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउने, बढी जोखिम रहने समूहहरु, दीर्घरोगीहरु, ६० वर्ष माथिका जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरीलाई संक्रमितको सम्पर्कभन्दा टाढा राख्नुपर्ने  स्वास्थ्य मन्त्रालयको निर्देशिकामा उल्लेख छ । ‘परिवारका अन्य सदस्यहरु भन्दा छुट्टै बस्न,खानाकाे व्यवस्था मिलाउन सके होम आइसोलेसन अत्यन्त प्रभावकारी छ, यसलाई हामीले प्रोत्साहन गर्न सकिन्छ’, सहनीले थपे। 

स्थानीय तहले साह्रै लापरवाही गरे : प्रजिअ पण्डित

स्थानिय तहको चरम लापरबाहीका कारण गरिब विपन्न संक्रमितहरु बाध्य भएर घरमा  बस्नुपरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । जिल्ला विपत व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले उपमहानगरले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शैयाको आइसोलेसन निर्माण गर्ने निर्णय भएको थियो । तर बाराका १६ ओटा स्थानीय तहमध्ये महागढीमाई नगरपालिकाबाहेक अन्यले आइसोलेसन निर्माणमा चासो नदेखाएको प्रजिअ पण्डितले गुनासो गरेका छन्।

‘निर्णय कार्यान्वयन गर्छु भनेर उहाँहरुले नै हस्ताक्षर गर्नुभएको हो, स्थानीय तहले समयमै आइसोलेसन बनाइदिएको भए आज कुनै समस्या हुँदैनथ्यो’, पण्डितले भने ‘छुट्टै कोठा शौचालय, स्नान घर हुनेले त राम्रैसँग बसेका होलान्, तर विपन्नको हकमा के छ, अनुगमन भएको छैन’, प्रदेश सरकारको सहयोगमा  सञ्चालनमा रहेको गंगापुर आइसोलेसनमा संक्रमितलाई अभद्र व्यवहार गर्ने  खानपानमा चरम लापरवाही भएको विषयमा भने प्रजिअ पण्डितले पछिल्लो समय  सुधार हुँदै गएको दाबी गरेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.