|

बैतडी : जिल्लामा शुक्रबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि हुनेमा सिगास गाउँपालिकाका रहेका छन्। भारतबाट फर्किएका सिगास–२ का २३ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।  
पुष्टि हुने दुबै क्वारेन्टाइनमा रहेका र उनीहरुलाई अलग्गै आइसोलेट गरिने भएको छ। उनीहरुको अवस्था सामान्य छ। थप २ जनामा कोरोना पुष्टि भएसँगै बैतडीका संक्रमित संख्या ३ सय २५ पुगेको छ। जसमा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित छन्। यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३ र सिगासका ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तै दशरथचन्द नगरपालिकाका ३५, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २४, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ। 

४ जना मात्रै सक्रिय 

बैतडीमा ३ सय २५ जनामा कोरोना संक्रमण हुँदा भए पनि अब डिस्चार्ज हुन ४ जना मात्र बाँकी रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।  उनीहर पाटन नगरपालिकाकी १ महिला र सिगास गाउँपालिकाका ३ पुरुष गरी ४ जना हुन्। 

सिगासका संक्रमित पुरुषहरु आइसोलेसनमा रहेका छन् भने पाटनका संक्रमित महिला गर्भवती रहेकोले धनगढीमा राखिएको जोशीले बताए।  दुवै जनाको अवस्था सामान्य रहेको बताइएको छ। बैतडीका घर फर्किएका अधिकांश संक्रमित १४ दिनसम्म कुनै लक्षण नदेखिएर घर पठाइएका हुन्।  

जिल्लामा हाल भातरबाट फर्किएका २ सय २७ जना क्वारेन्टाइनमा रहेका छन्। भारतबाट फर्किएका सबै व्यक्ति क्वारेन्टाइनमा नबसी सोझै घर जाँदा जोखिम बढेको छ। होम क्वारेन्टान्इमा बस्ने भन्दै घर गएका ती व्यक्ति जथाभावी गाउँघरमा हिँडडुल गर्नाले संक्रमणको जोखिम पनि बढ्दै गएको छ। 

समुदायमा संक्रमण फैलिएको छैनः स्वास्थ्य कार्यालय

बैतडीमा समुदायमा कोरोना संक्रमण नफैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितका आफन्तहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

जिल्लाको पाटन नगरपालिकाका ९७, दशरथचन्द नगरपालिकाका १५, मेलौली नगरपालिकाका ३६ र दोगडाकेदार गाउँपालिकाका २७ जना गरी १७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। 

जिल्लाका अन्य स्थानीय तहमा कोरोना संक्रमितका आफन्तको स्वाब संकलन जारी रहेको भट्टको भनाइ छ। उनले भने ‘अझै संक्रमितका आफन्त र क्वारेन्टाइनमा बसेका १८१ जनाको रिपोर्ट आउन भने बाँकी छ, समुदायमा कोरोना फैलिए नफैलिएको बारेमा जानकारी लिन संक्रमितका आफन्तको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने कार्य भइरहेको हो।’

संक्रमितका आफन्तको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा स्थानीयमा पनि कोरोनाका त्रास हटेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। नगर क्षेत्रभित्रका संक्रमितका ९७ जना आफन्तको कोरोना रिपोर्ट नेगेटिभ आएपछि समुदायमा रहेको कोरोनाको त्रास हटेको महराको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.