हप्ता बित्दा पनि आउँदैन परीक्षणको नतिजा

|

हेटौंडा : हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र(प्रयोगशाला)मा मकवानपुर जिल्ला प्रदेश २ का केही जिल्लाको स्वाब परीक्षण भइरहेको छ। पछिल्लो समय धेरै स्वाब संकलन भइरहेकाले परीक्षणको रिपोर्ट आउन लामो समय लागिरहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रदेशको कोभिड–१९का प्रवक्तासमेत रहेका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत पुरुषोत्तम सेढाईँका अनुसार दैनिक ३ सयसम्म स्वाब संकलन भई प्रयोगशालामा आइरहेका छन्। जसका कारण रिपोर्ट आउन समय लागेको हो। 

हेटौंडा उपमहानगरपालिका १६ का हीरालाल ढकाल साउन २७ गते सुनसरीको धरानबाट हेटौंडा आउनुपर्यो। सूर्य नेपाल प्रालिमा काम गर्ने ढकाल कोरोनाको जोखिमयुक्त क्षेत्रबाट आएका र कोरोना लक्षण देखिएको कारण उनी हेटौंडा–१० स्थित एक होटल बुक गरेर आफैं क्वारेन्टाइनमा बसे। 

दुई दिन क्वारेन्टाइन बसेपछि बल्ल उनको कोरोना लागि स्वाब संकलन भयो। २९ गते स्वाब संकलन भएपछि उनलाई मानसिक रुपमा झन तनाव भयो। भने, ‘स्वाब दिएर आएपछि रिर्पोट नआउन्जेल एकदम प्रेसरमा परेँ, परिवारमा पनि तनाव बढ्यो।’

ढकालले बढीमा २ दिनमा परीक्षणको रिर्पोट आउने सोचेका थिए तर एक हप्तापछि मात्रै आयो। ४–५ दिनसम्म पनि रिर्पोट नआउँदा परिवारले कुरेर सेल्फ क्वारेन्टाइनमा बसेको पत्याएनन्।

​परिवारका सबै सदस्यले कोरोनाको रिर्पोट पोजेटिभ आएर घरमा नभनी बसेको दाबी गरेका थिए। पछि भदौ ३ गते रिपोर्ट नेगेटिभ आएपछि उनी ढुक्क भए।

होटलमा महँगो बसाइपछि उनी भदौ ४ गते मात्रै घर जान पाए।  हेटौंडा १९ का ढकाल त उदाहरण मात्रै हुन्।  यसरी रिर्पोट कुरेर तनावमा बसेका थुप्रै छन्। हेटौंडा ४ की एक महिला जो संक्रमितसँगै यात्रा गरेकी थिइन् उनी पनि केही दिनदेखि स्वाब रिपोर्ट नआएर तनावमा थिइन्। 

यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि हेटौंडामा स्वाब दिएर बसेको ३ दिनसम्म रिर्पोट नआएपछि काठमाडौंमा स्वाब परीक्षण गरेकी थिइन्। हेटौंडामा स्वाब दिए पनि हालसम्म त्यसको नतिजा आएको छैन। काठमाडौंको रिर्पोटले उनी संक्रमित भएर अहिले होम आइसोलसनमा छन्। 

हेटौंडामा स्वाबको चाङ

बागमती प्रदेशमा हेटौंडा ल्याबमा मात्रै अहिले संकलन भएर परीक्षण हुन बाँकी १३ सय ७४ जनाको स्वाब छन्। आइतबारबाट काभ्रेको धुलिखेलमा र भक्तपुरको खरिपाटीमा प्रयोगशाला थपिए पनि स्वाब संकलन गर्नेहरुको संख्या निरन्तर बढेकाले स्वाबको नतिजा छिटो आउन सकेको छैन। 

हेटौंडामा परीक्षणमा ढिलाइ भएको ५ सय स्वाब आइतबार बिहानै धुलिखेलसमेत पठाइएको सेढाईँले बताए। लकडाउन खुलेपछि ह्वात्तै कोरोना संक्रमित बढेका र त्यसको कारण कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरूको स्वाब धमाधम संकलन भइरहेको सेढाईँ बताउँछन्।

४ वटा पिसिआर मेसिन खरिद प्रक्रियामा 

प्रदेश सरकारले कोरोना संक्रमणको अवस्थालाई नियन्त्रण गर्न यहि साताभित्र ४ वटा पिसिआर मेसिन खरिद गर्ने भएको छ। सेढाईँका अनुसार यो साता नै सूचना जारी गरेर मेसिनको खरिद प्रक्रियामा जाने तयारी छ। जसअनुसार नुवाकोटको त्रिशूली अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र मकवानपुरको हेटौंडा अस्पतालमा प्रयोगशाला स्थापना गरिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.