दुई प्रहरीसहित एक स्थानीय घाइते, दुई आरोपी समातिए

|

भद्रपुर : झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ। प्रतिकारमा प्रहरीले हवाई फायर गर्दा गोली लागेर एक जना स्थानीय घाइते भएका छन् भने दुई जना सुरक्षाकर्मी समेत घाइते भएको जनाइएको छ।

प्रहरीको गोली लागेर झापा गाउँपालिका ३ बस्ने ३८ वर्षीय राखिफूल आलम घाइते भएका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। घाइते आलमको बिर्तामोडको बिएण्डसी अस्पताल उपचार भइरहेको छ। उता घाइते दुई सुरक्षाकर्मीमध्ये एक सशस्त्र प्रहरी र एक नेपाल प्रहरी हुन्। उनीहरूको नाम खुलाइएको छैन।

घटना विवरण अनुसार बुधबार दिउँसो ३ बजेको समयमा साबिक टाघनडुब्बा गाविस हाल झापा गाउँपालिका ३ कामाटोलीमा गाईको बाछो काट्दै गरेको प्रहरीलाई खबर आएको थियो। 

त्यसपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट बाछोको मासुसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले बाछोको मासुसहित सोही गाउँपालिका ३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई नियन्त्रणमा लिएपछि त्यहाँका गाउँले प्रहरीमाथि उल्टै खनिएका थिए। त्यो गाउँमा मुस्लिम समुदायको बाहुल्य छ।

स्थानीयले आलमद्वयलाई छाड्नुपर्छ भन्दै प्रहरीविरुद्ध नाराबाजी गर्दै घेराउ गरेका थिए। प्रहरीमाथि गाउँले खनिएपछि थप मदतका सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट टाघनडुब्बा प्रहरी निरीक्षक सचिन प्रधान र नेपाल प्रहरीका निरीक्षक सञ्जीव बोगटीसहितको टोली सशस्त्र प्रहरीको गाडीमा घटनास्थल पुगेकाे थियाे।

घटनास्थलमा पुगेका थप प्रहरी टोलीले बाछोको मासुसहित आलमद्वयलाई ल्याउन खोजेपछि गाउँहरूले बाटो छेकेर घरेलु हातहतियार सुरक्षाकर्मीमाथि आक्रमण गरेका हुन्।

आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् भने सशस्त्रको गाडीमा तोडफोड समेत गरिएको छ। स्थानीयले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि प्रतिकारमा सशस्त्र प्रहरीले आधा दर्जन हवाई फायर गरेका थिए।

प्रहरीले हवाई फायर गर्दा आलम घाइते भएको थिए। अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेश पाण्डे पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.