गौहत्यापछिको विवाद बढ्दै, सडक छेकेर टायर बाल्दै प्रदर्शन

|

भद्रपुर, (झापा) : गौहत्या गर्ने आरोपीद्वयलाई प्रहरीले बिनाशर्त रिहा गरेपनि झापा गाउँपालिका–३ स्थित कामाटोलीमा उत्पन्‍न विवाद साम्य भएको छैन।

स्थानीयवासीसँग बुधवार साँझ झडपको क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गाउँपालिका ३ बस्ने बस्ने ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएपछि गाउँबासी झन् आक्रोशित बनेका छन्।

स्थानीय मुस्लिम समुदायले विभिन्‍न १० बुँदे माग राख्दै कामाटोलीमा प्रदर्शन गरिरहेका छन्। स्थानीयबासीले बाटो अवरोध गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्।

माग सम्बोधन नभएपछि प्रदर्शन जारी राख्ने बताइएको छ। यता गोली लागेर मृत्यु भएको आलमको शव बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमै राखिएको छ। अहिलेसम्म शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर ल्याइएको छैन।

इलाका प्रहरी कार्यालय कुमरखोदले बाछो काटेको आरोपमा मङ्गलबार दिउँसो सोही गाउँपालिका ३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका आलमद्वय छाड्नु पर्छ भन्दै त्यहाँका गाउँबासीले बुधवार साँझ सुरक्षाकर्मीमाथि नै आक्रमण गरेका थिए। उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लाग्दा स्थानीय मुस्लिम समुदायले सडकमा अवरोध गरेका थिए।

अवरोध गरेका गाउँले प्रहरीमाथि आक्रमण गरेपछि स्थिति सामान्य बनाउन प्रतिकारमा सशस्त्र प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका सोही ठाउँ बस्ने ३८ वर्षीय आलमको मृत्यु भयो।

पिठ्युँमा दुई गोली लागेका आलमको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा बुधवार राती नै मृत्यु भएको थियो।

प्रहरीको गोली लागेर आलमको मृत्यु पश्चात् कामाटोलीको अवस्था झन् जटिल बन्यो। त्यहाँ गाउँबासीले राति पनि सडकमा टायर बालेर प्रहरीविरुद्ध नाराबाजीमा उत्रिए।

त्यसपछि घटनालाई सामान्य बनाउने झापाका प्रहरी, प्रशासनले गौहत्याका आरोपी आलमद्वयलाई बिनासर्त छाडिदिए।

झापा गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको रोहवरमा उनीहरूलाई प्रहरीले रिहा गरी दिए।  झापा गाउँपालिका अध्यक्ष साह र उपाध्यक्ष बुढाथोकी, पीडितपक्षको उपस्थितिमा जिल्ला प्रहरी, प्रशासन प्रमुखहरुले घटना सामान्य बनाउन छलफल गरेका थिए।

त्यही छलफलपछि उनीहरूलाई रिहा गरिएको हो। छलफलमा पीडित पक्षले १० बुँदे माग समेत राखेका छन्। छलफलमा स्थानीय मुस्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, १० लाख रुपैयाँ राहत दिनुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्ने, सशस्त्र र नेपाल प्रहरीका दुवै प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने, प्रहरीको ज्यादती बन्द गर्नुपर्ने लगायतका माग राखेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेश पाण्डेले भने, मङ्गलबार राती बसेको छलफलबाटै दुवै आरोपीलाई रिहा गरिएको छ, स्थानीय मुस्लिम समुदायले राखेको मागको विषयमा छलफल हुन बाँकी छ। यस विषयमा प्रशासन कार्यालय झापामा सुरक्षा निकाय बिच छलफल भइरहेको छ। त्यसपश्चात मात्र केही भन्न मिल्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.