|

हेटौंडा : मकवानपुरका स्थानीय तहहरुले यतिबेला धमाधम आइसोलेसन बेडहरु बनाउन थालेका छन्। संक्रमितको संख्या लगातार थपिन थालेपछि स्थानीय तहहरुले तदारुकता देखाएका हुन्। 

हेटौंडा उपमहानगरपालिकामा दुई वटा आइसोलेसन केन्द्र छन्। हेटौंडा–४ कर्राको श्रमिक माविमा रहेको आइसोलेसनमा ३७ वटा बेड छन् भने हेटौंडा–६ गौरीटारमा बागमती प्रदेश सरकारले १ सय २० वटा आइसोलेसन बेड सहित सञ्चालनमा ल्याएको छ।

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकामा १० वटा बेड सहितको आइसोलेसन तयार भएको छ भने मनहरी गाउँपालिकामा ३० बेडको आइसोलेसन सञ्चालनमा रहेको छ। यस्तै बकैया गाउँपालिकामा ३० बेडको आइसोलेसन पनि तयारी अवस्थामा छ। 

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जिल्लामा आइसोलेसन बेडको संख्या २१७ पुगेको जनाए। जनस्वास्थ्य कार्यालय हेटौंडाका सूचना अधिकारी राम केसीका अनुसार हाल मकवानपुरका ९१ जनाले जिल्लामा रहेका विभिन्न आइसोलेसनमा सेवा लिएका छन् भने १९ जना देशभरका विभिन्न स्थानमा उपचारत छन्। बाँकी संक्रमित भने होम आइसोलसनमा छन्।

निषेधाज्ञाले संक्रमण दर घटाएन 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत साउन २६ गतेबाट निषेधाज्ञा जारी गरेको भए पनि हेटौँडामा दिनानुदिन कोरोना संक्रमण बढ्दो छ। मकवानपुरमा हालसम्म ४ सय ५३ जनामा संक्रमण पुष्टि भैसकेको छ भने ५ जनाको मृत्यु पनि भएको छ। 

मृत्यु हुनेमा हेटौँडा १,३,४ र १९ नम्बर वडाका रहेका छन्। निषेधाज्ञा गरे पनि संक्रमण दर नरोकिएपछि मकवानपुरमा निषेधाज्ञा थप नहुने भएको छ। मकवानपुरमा आगामी भदौ १६ गतेपछि आवश्यक व्यवस्थापनका साथ निषेधाज्ञाको स्वरुप परिवर्तन हुने जनाइएको छ। 

हेटौंडा उपमहानगरसहित विभिन्न स्थानीय तहमा भदौ १५ गतेसम्म जारी निषेधाज्ञाको आवश्यक व्यवस्थापन गरेर खुकुलो पार्दै स्वरुप परिर्वतन गरिने भएको हो। 
बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको सर्वपक्षीय÷सर्वदलीय बैठकले आवश्यक तयारी गरेर निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न सुझाएको थियो। 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ बसेको बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको कडा कार्यान्वयन गर्दै निषेधाज्ञाको स्वरुपमा परिर्वतन गर्नुपर्ने, साथै निषेधाज्ञा खुकुलो पार्दै परिस्थितिलाई क्रमशः सहज बनाउँदै लानुपर्ने सुझाव दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.