पिसिआर दिएकालाई क्‍वारेन्टाइनमा राख्‍न सकेन सरकारले

|

हेटौंडा : मकवानपुरमा रहेको क्वारेन्टाइनहरु सुनसान हुन थालेका छन्।

जिल्लाका सबै स्थानीय तहले कोरोना संक्रमितको सम्पर्कमा आएका, विदेश र कोरोना प्रभावित क्षेत्रबाट आएकालाई १४ दिन राखेर पिसिआर गरेर मात्रै घर पठाउने भन्दै धमाधम क्वारेन्टाइन बनाएका थिए। तर प्रभावकारी रुपमा व्यवस्थापन गर्न नसक्दा, पिसिआरको लागि स्वाब दिनेहरुलाई क्वारेन्टाइनमा राख्न नसक्दा क्वारेन्टाइन रित्तिन थालेका हुन्। 

४ सय ५२ बेड खाली  

हेटौंडा उपमहानगरपालिकामा बनाइएका क्वोन्टाइनमा १ सय ९८ बेड छन्। त्यस्तै  मनहरी गाउँपालिकामा ७४, बाग्मती गाउँपालिकामा ७०, बकैया गाउँपालिकामा ३३, थाहा नगरपालिकामा २०, भीमफेदी गाउँपालिकामा २५ बेड छन्। 

त्यस्तै कैलाश गाउँपालिकामा २५, राक्सिराङ गाउँपालिकामा १७ र इन्द्र सरोवर गाउँपालिकामा पनि १० बेड छन्। सबै गरी जिल्लाभरका क्वारेन्टाइनमा ४ सय ७६ बेड रहेका जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी राम केसीले जानकारी दिए। 

तीमध्ये आइतबार साँझसम्म सरकारी क्वारेन्टाइनमा एक महिलासहित जम्मा १२ जना मात्र छन्। हेटौंडा–१० गोरक्षेश्वरमा २ जना,  मनहरीमा एक महिलासहित ५ जना, थाहा नगरपालिकामा १ जना, बकैयाको क्वारेन्टाइनमा २ र भीमफेदी गाउँपालिकाको क्वारेन्टाइनमा २ जना मात्रै छन्।

सूचना अधिकारी केसीका अनुसार मकवानपुरमा क्वारेन्टाइनमा बस्नेहरु केही विदेशबाट आएका र केही अन्य जिल्लाबाट आएका मात्रै छन्। जिल्लामा सरकारले भनेअनुसार संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा नराखिएको र उनीहरु होम क्वारेन्टाइनमै रहेका उनले बताए। 

आइसोलेसनमै गएर स्वाब दिनेलाई स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बस्न आग्रह गरे पनि उनीहरु घरै जाने गरेका छन्। तर केही ठूला कम्पनीहरु तथा संस्थाले हेटौंडाका विभिन्न होटल तथा लजहरुमा निजी क्वारेन्टाइनको रुपमा आफ्ना कर्मचारीहरुलाई राखेका छन्।

होम आइसोलेसनमा बस्ने कति छन् ? 

आइतबार साँझसम्म मकवानपुर जिल्लामा धेरै संक्रमितहरु संस्थागत (सरकारी) आइसोलेसनभन्दा होम आइसोलेसनमा बस्ने गरेका पाइएको छ। आइतबार साँझको तथ्यांकअनुसार मकवानपुरमा १ सय ३७ जना संक्रमित होम आइसोलेसनमा छन्। त्यस्तै ८५ जना मात्रै संस्थागत(सरकारी) आइसोलेसनमा छन्। केसीका अनुसार मकवानपुरमा आइतबार साँझसम्ममा कोरोना संक्रमण पुष्टि भएका ४ सय ८९  जनामा २ सय ६७  जना कोरोनामुक्त भइसकेका छन्। 

त्यस्तै २ सय ७४ जना कोरोना संक्रमणमुक्त समेत भइसकेका छन्।  हेटौंडा उपमहानगरपालिकामा मात्रै दुई वटा आइसोलेसन केन्द्र छन्। हेटौंडा–४ कर्राको श्रमिक माविमा रहेको आइसोलेसनमा ३७ वटा बेड छन् भने हेटौंडा–६ गौरीटारमा बागमती प्रदेश सरकारले १ सय २० बेड क्षमताको आइसोलेसन सञ्चालनमा ल्याएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.