|

पर्सा : आर्थिक नगरी वीरगन्ज पर्साको सदरमुकाम मात्र होइन। देशकै ढोका हो। प्रदेश २ को प्रतिनिधित्व गर्ने सहर पनि हो। कोरोना महामारीपछि देशभर लगाइएको लकडाउन हटाइएपछि पनि जारी निषेधाज्ञा एक महिना पुगिसक्यो। 

कोरोना महामारी तीव्र फैलिएपछि गएको साउन १० गतेबाट वीरगन्जमा निषेधाज्ञा छ। १९ साउनदेखि अझै लम्ब्याइएको छ। तर जिल्लाको निषेधाज्ञा भने गएको शनिबारबाट हटेर वीरगन्ज महानगरमा मात्र सीमित भएको छ।

साउन लागेपछि वीरगन्जमा ह्वात्तै कोरोना बढ्दा त्यसको असर छिमेकी बारा र रौतहटसम्म पनि फैलियो । उता पनि निषेधाज्ञा गरियो । वीरगन्जमा भदौ १९ पछि निषेधाज्ञा खुकुलो पार्ने स्थानीय प्रशासनले निर्णय गरेको छ। 

तथापि जिल्ला भित्रका मात्र नभई छिमेकी जिल्लाका कतिपय स्थानीयको आवागमन र बासस्थानसमेत रहेको वीरगन्जमा हालै केही दिनयता भने मानिसहरुको चहलपहल न्यून मात्रामा भए पनि सुरु हुन थालिसकेको छ।

कोरोना हटस्पट बन्दै गएको वीरगन्जमा सुरुका दिनमा लकडाउन र निषेधाज्ञा प्रभावकारी नहुँदा अन्ततः पछिल्लो समयको लागि प्रत्युत्पादक अवस्था बन्यो। असार ३१ गतेसम्म एक जना मात्र पहिचान नखुलेका मानिसको कोरोनाका कारण मृत्यु भएको थियो। हाल प्रतिदिन ३ जनासम्मको कोरोनाका कारण यहाँ निधन भइरहेको छ। 

मंगलबार बिहानसम्म पर्साका ३८, बाराका १३ र रौतहटका पनि ५ जनाको कोरोनाले ज्यान गइसकेको छ। सर्वसाधारण र राज्य संयन्त्रको सतर्कतामा कमी हुँदा आर्थिक नगरी सतर्क बन्न चुकिरहेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.