प्रहरी निरीक्षकसहित ३ जना निलम्बनमा

|

रौतहट : केही दिनयता रौतहटमा श्रृखलाबद्ध रुपमा हत्याका घटनाहरु भए। सबैभन्दा पहिला गरुडा नगरपालिका-८ जिडडियाका १९ वर्षीय निरन्जन पासवानको घाँटी रेटेर हत्या भयो। त्यसको ३ दिन पछि माधव नारायण नगरपालिका-८ खेसरहियाटोलको हनुमान मन्दिरका पूजारीको राति करिब साढे ९ बजे खाना खाइरहेको अवस्थामा गोली हानी हत्या भयो।

त्यसको लगतै निरन्जन हत्याकाण्डमा आरोपित सोही गाउका विजय रामको प्रहरी हिरासतमै मृत्यु भएपछि रौतहट प्रहरीको सुरक्षामा ठूलो प्रश्न चिह्‍न खडा भयो। निरन्जन हत्याकाण्डमा निर्दोष फसाइएको भन्दै पीडित परिवारहरु संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेको अवस्थामा हिरासतमा रहेका रामको मृत्यु भएपछि गरुडा बजारको आन्दोलन झनै तात्यो।

 

निरन्जन र विजयको घटना हुँदाहुँदै फेरि भदौ १३ गते गडीमाई नगरपालिका-२ कै गम्हरीमा एक महिलाको हत्या गरी उखुबारीमा शव भेटियो।

रौतहटमा प्रहरी असफल भएको भन्दै दिनहुँ आन्दोलन भइरह्यो। त्यसको केही दिनपछि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोलाइ प्रदेश प्रहरी तानियो।

डिएसपी महतोलाइ प्रदेश प्रहरी तानेको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रहरी निरीक्षक तथा निरन्जन हत्या काण्डका अनुसन्धान अधिकृत नवीनकुमार सिंहसहित २ जना प्रहरी हवलदारलाई निलम्बन गरियो।

निरन्जन हत्या आरोपमा प्रहरी हिरासतमा रहेका विजयलाई यातना दिएको र उनको मृत्यु भएको घटनाको अनुसन्धान गर्ने प्रहरी निरीक्षक सिंहसहित हवल्दार मुन्नाकुमार सिंह र हिरोज आलम मियालाइ निलम्वन गरेको हो।

बिहीबार प्रहरी प्रधान कार्यालय काठमाण्डौले रौतहट प्रहरी प्रमुख एसपी रविराज खडकालाई नै तानेको छ। जिल्लाका प्रहरी प्रमुखदेखि अनुसन्धानमा खटिएका हवल्दारसम्म अनुसन्धानको घेरामा छन्।उनीहरु सबैले सो घटनामा आफूहरुले कानुनविपरीत कार्य नगरेको प्रतिक्रिया दिँदै आएका छन्।

इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा रहेका एक युवकको यातनापछि मृत्यु भएको घटना तथा पछिल्लो १५ दिनयता विभिन्न आपराधिक घटनामा कमाण्डरको भूमिका राम्रो नदेखिएपछि एसपी खड्का हेर्डक्वाटर तानिएको स्रोतको दाबी छ।

एसपी खड्काको हेडक्वार्टर काज सरुवा भएपछि रौतहटको प्रहरी प्रमुखमा एसपी सिद्धीबिक्रम शाह आउने भएका छन् भने इलाका प्रहरी कार्यालय गरुडामा डिएसपी नरेन्द्र कुँवर आउँदैछन्।

रौतहटको गरुडा नपा-८ जिगंडवाका २० वर्षीय निरन्जन पासवानको हत्या गरेको आरोपमा सोही ठाउका १९ वर्षीय विजय रामसहित ७ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। हिरासतमा प्रहरीको कुटपिटबाट घाइते भई भदौ ११ गते उनको मृत्यु भएको पीडित परिवारको दाबी छ।

विजयको शरीरभरी नीलडाम र घाउचोट भएको तस्विर सार्वजनिक भएको थियो भने प्रहरीले यातना दिएको विजयको भनाइ सहितको भिडियोसमेत बाहिरिएको थियो।

उक्त घटनाको छानबिनको लागी गृह मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट उपसचिव डोलेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ।

यसको साथै प्रदेश सरकारले पनि आन्तरीक मामिलामन्त्री ज्ञानेन्द्र यादबको संयोजकत्वमा अर्को छानबिन समिति पनि गठन गरेको छ। छानबिन समितिले काम गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले जानकारी दिएका छन्।

पूजारी हत्याकाण्डको आरोपमा २ जना अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिइसकेको र चाँडै नै हत्यामा संलग्नहरुको पहिचान गर्न प्रहरी लागेको समेत प्रजिअ यादवले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.