वामदेवलाई शुभकामना, अरू केही भन्दिनँ

|

पूर्व मन्त्रीसमेत रहेका सञ्‍जय कुमार गौतम बर्दिया क्षेत्र नं. बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हुन्। गौतमले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई हराएका थिए। प्रतिनिधिसभाको निर्वाचनमा सञ्जय कुमार गौतमले वामदेवलाई ७५३ मतले हार चखाएका थिए। वामदेवले कमजोर आँकेका तर, जिल्ला बसेर जनताको मन जितेरै निर्वाचित भएका सञ्जय कुमार गौतमसँग पराजित भएर चर्चामा रहेका वामदेव अहिले पनि राजनीतिक चर्चाको केन्द्रमा छन्। सत्तारुढ नेकपाले वामदेवलाई रिक्त राष्ट्रियसभाको एक पदमा मनोनयनका लागि सिफारिस गर्ने निर्णयसँगै उनी फेरि चर्चामा आएका हुन्। नेकपाको यो निर्णयले चुनाव हारे पनि सत्ता र शक्तिमा बस्न चाहने वामदेवको सपना पूरा भएको छ। तर संसदीय व्यवस्थामा भने गम्भीर प्रश्‍न उठेको छ। नेकपाले प्रतिनिधिसभाको यही कार्यकालमा चुनाव हारेका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रियसभा सदस्य बनाइसकेको छ। सञ्जय कुमार गौतमले प्रतिनिधिसभाको निर्वाचनमा पराजय चखाए पनि वामदेव राष्ट्रियसभामा आउँदै छन्। यही विषयमा वामदेवलाई पराजित गरेका सञ्‍जय कुमार गौतमसँग थाहाखबरकर्मी सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी :  

तपाईंले हराएको व्यक्ति अब संघीय संसदमा प्रवेश गर्दै हुनुहुन्छ। यसलाई कसरी लिनु भएको छ? 

मैले कसरी लिनेभन्दा पनि म त चुनाव लडेको मान्छे। अब जनताले कसरी लिन्छन् भन्‍ने कुरा मुख्य हो। यो खास मेरो विषय होइन। सत्तारुढ दल नेकपाले नै सोच्ने विषय हो यो। यो उहाँले (वामदेव) ले राम्रै सोच्नु भएको होला। त्यसको परिणाम के आउँछ म पनि कुरिरहने मध्येमा पर्छु। 

चुनाव हारेर पनि सत्तामा ल्याउने-आउने भएपछि तपाईंको जित र संघीय व्यवस्था माथि प्रश्‍न उठ्दैन र? 

यो नेताहरुले सोच्‍नै पर्ने कुरा हो। जसले यस्तो दु:ख गरेर, व्यवस्था निर्माण गर्यौं, संविधान बनायौँ, संघीयता ल्यायौँ, तीन तहको सरकार बनायौं। नेपाली जनताका लागि सिंहदरबार गाउँसम्म ल्याउने जुन काम गर्याैँ। यस्तो बेला जनताका प्रतिनिधिको विषयमा नेकपाले किन सोचेन थाहा छैन। 

तपाईंले हराएको मान्छे तपाईंसँगै सांसदकै भूमिकामा संघीय संसद भवनमा छिर्न लाग्दा कस्तो अनुभूति भइरहेको छ?

मलाई अहिले धेरैले सोध्‍ने प्रश्‍न नै यही भएको छ। यसले हाम्रो व्यवस्था र पद्धतिलाई कस्तो प्रभाव पार्छ र पार्नेवाला छ भन्‍ने कुरा महत्वपूर्ण छ। यसले बस्‍नै नहुने नजिर चाहिँ बसेको म देख्छु। 

वामदेव गौतमले त पाँच हजार मत बदर भएको र अन्तर्घात गरी हराइयो भन्‍न थाल्नु भएको छ? साँच्चै मत बदर भएकोले तपाईंले हराउनु भएको हो?

मत बदर भएको पनि होइन। उहाँमाथि अन्तर्घात भएको पनि होइन। यो के हो भने यतिको ठूलो नेता भइसकेपछि पनि निर्वाचनमा पराजय स्वीकार्न नसकेको परिणाम मात्र हो। एक ठूलो नेताको ठूलै कमजोरी हो। विजय पनि स्वीकार गर्नुपर्छ। पराजय पनि स्वीकार गर्नुपर्छ। बर्दियाली जनताको जनादेशलाई अरु कुनै बाहनामा पनि सम्मान गर्न नसक्नु राम्रो कुरा होइन। बर्दियाका जनताले मलाई उहाँलाई जितेर जाने अवसर दिए म त्यसको ऋण तिर्नका लागि जनताकै वरिपरि बसेर काम गरिरहेको छु। कोरोना महामारीबीच पनि म जनताकै साथमा छु। म यति भन्छु, बर्दियाका जनता विवेकशील छन् र विवेकशील निर्णय पनि गरेका हुन्। जनताको निर्णय नमान्‍ने त नेताको कमजोरी हो। 

राष्ट्रियसभा सदस्य भइसकेपछि अब अर्काे प्रतिनिधिसभाको निर्वाचन हुने बेलासम्म त कार्यकालको सकिएको हुँदैन। कतै प्रतिनिधिसभाको निर्वाचन नलड्ने दाउ पो हो कि? के लाग्छ ? 

सायद म भएको भए अहिले पनि राष्ट्रियसभामा नै जान्‍न'थेँ। जनताको मतको सम्मान गर्थेँ। यो देशमा केके भइरहेको जे नहुनुपर्ने त्यही भइरहेको छ। म चाहिँ बर्दियामै छु। आफ्ना कार्यकर्ता, मतदातासँगै छु। राष्ट्रिय राजनीतिमा केके हुन लागेको हो, खोजेको म पनि विश्लेषणको खोजी गरिहेको छु। जहाँसम्म चुनाव लड्ने नलड्ने कुरा चाहिँ उहाँ (वामदेव) मै निहित छ। 

अन्त्यमा, वामदेवका लागि केही सन्देश छ? 

उहाँलाई मेरो शुभकामना छ अरू त के भनूँ। उहाँ मेरो पनि अभिभावक हो। उहाँले, उहाँको पार्टीले केही सोचेरै यस्तो निर्णय लिएको होला। फेरि पनि शुभकामना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.