भन्छन् : चुनौतीलाई अवसरमा बदल्नुको विकल्प छैन

|

विराटनगर : कोरोनाविरुद्धको अभियानमा अहिलेका पहिलो योद्धा स्वास्थ्यकर्मी हुन्। विश्‍‍वभर महामारी बनेको कोरोनाको कुनै औषधि छैन। बिरामीका लागि छ त केबल डाक्टरसहितका स्वास्थ्यकर्मीको साथ र माया। चिकित्सकसहित स्वास्थ्यकर्मी अस्पताललाई नै घर ठानेर कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहेका छन्। 

कोरोना नियन्त्रणका लागि सडकमा सुरक्षाकर्मी खटिरहेका छन् भने अस्पतालमा स्वास्थ्यकर्मी। सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेर संक्रमण फैलिन नदिने कोसिस गरिरहेको छ। सुरक्षाकर्मीले एउटा मोर्चा सम्हालिरहँदा अर्कातिर संक्रमितको जीवन बचाउन चिकित्सकसहितका स्वास्थ्यकर्मी ज्यानको बाजी लगाएर खटिरहेका छन्।

एक महिनायता प्रदेश १ को राजधानी विराटनगर क्षेत्रमा कोरोना समुदायमा फैलिएको छ। त्यहीँ छ देशकै प्रमुखमध्ये एक कोभिड डेडिकेटेड अस्पताल। प्रदेश १ का कोरोना संक्रमितको उपचारका लागि कोसी अस्पतालले कोभिड-१९ डेडिकेटेड अस्पताल नै तयार गरेको छ। 

प्रदेश १ मा सबैभन्दा पहिला स्थापना गरिएको विषेश कोभिड अस्पतालका संयोजक हुन् डा. दीपक सिग्देल। पूर्वी नेपालमा आफूलाई अब्बल डाक्टरका रुपमा स्थापित गरेका सिग्‍देलकै काँधमा आएको छ प्रदेश १ को कोरोनाविरुद्धको एउटा लडाइँको मोर्चा सम्हाल्ने जिम्मेवारी।

गत चैत २१ गतेदेखि कोरोनाका बिरामीको उपचार थालिएको कोभिड-१९ डेडिकेटेड अस्पतालमा वैशाख ५ गते पहिलो पटक संक्रमित आइपुगे। जहाँ एकै पटक पाँच जना संक्रमित भर्ना भएका थिए। अहिलेसम्म यो अस्पतालमा पूर्वी नेपालमा ४ सय १२ जना संक्रमित भर्ना भएर उपचार गराएका छन्। 

जसमध्ये ३ सय ५१ जना कोरोनामुक्त भएका छन्। हाल ५५ जना संक्रमित उपचाररत छन्। सुरुमा यहाँ कोभिड पुष्टि भएकाको पनि उपचार गरियो। तर अहिले अवस्था फेरिएको छ।

अहिले यहाँ लक्षणसहितका संक्रमितलाई मात्रै राखेर उपचार गर्ने गरिएको छ। कोरोना समुदायमा गएसँगै लक्षणसहितका संक्रमित बढेका छन्। लक्षणसहितका संक्रमित भेटिएसँगै सिग्देलसहितको स्वास्थ्यकर्मीलाई चुनौती पनि बढेको छ। 

प्रदेश सामाजिक विकास मन्त्रालयले कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रको सञ्चालनका लागि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास, डाक्टर दीपक सिग्देल, डाक्टर डेन आचार्य, डाक्टर रूपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ।

अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम निर्माण गरिएको छ।

हौसला दिँदै ड्युटी

सुरुवाती चरणमा कोरोना संक्रमणको त्रासका कारण उपचारमा खटिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मी डराएका थिए। शंकास्पद लक्षण देखिएका बिरामीलाई निजी अस्पतालमा प्रवेश निषेध अहिले पनि छ। यस्तोमा सरकारी अस्पतालले नै चाप धानिदिनुपर्ने बाध्यता आइपरेको छ।  

बाध्यात्मक अवस्था आएपछि प्रदेशका संक्रमितहरुको उपचार गर्न सरकारी अस्पताल कोसीले विषेश कोभिड अस्पतालका रुपमा कोरोना संक्रमितको उपचारको नेतृत्व लिएको छ। 

कोरोनाविरुद्धको फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी आफैं त्यो समय त्रसित थिए। त्रासको समयमा काउन्सिलिङ नहुँदा हतोत्साहित पनि हुने गरेका छन्। तर सिग्देलसहितका स्वास्थ्यकर्मीसँग कोरोनाविरुद्धको युद्ध लड्नुको अर्को विकल्प पनि छैन।

‘एक अर्कालाई प्रोत्साहित गर्दै काम'

कोसी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा सिग्देलले कोरोनाविरुद्धको लडाइँबारे फुर्सदमा थाहाखबरलाई सुनाए। 'एकअर्कालाई हौसला दिएर संक्रमितको सेवामा जुटिरहेका छौं', उनले भने, ‘अनुभव पनि आदान प्रदान गरेर काममा खटिन्छौं।’

सुरुवाती चरणभन्दा अहिले काम गर्न धेरै सजिलो भएको उनले सुनाए। तर अर्कोतर्फ लक्षणसहितका संक्रमितहरु बढेसँगै जोखिम पनि उत्तिकै बहन गर्नुपर्ने अवस्था रहेको उनले सुनाए।

कोरोना समुदायसम्म पुगेको विषम परिस्थितिमा यति धेरै संक्रमितलाई एउटै अस्पतालमा उपचार गर्न कसरी सहज भयो त? उनी भन्छन्,'जनस्वास्थ्यबारे अध्ययन गरेको र रुचिको विषय भएकोले मलाई संक्रमणको सम्भावनाबारे तयारी गर्न सहज भयो। टिमवर्क र सबैको सहयोगका कारण व्यवस्थापन गर्न सकेको छु।’

नेपालमा कोरोना संक्रमितका लागि उपचार गर्ने अस्पतालको तयारी हुँदै गर्दा अन्य क्षेत्रमा केन्द्रबाट आउने बजेट कुरिरहेका थिए। अरु ठाउँका अस्पतालहरू बजेट आउला र काम गरौँला भनेर बसिरहेका बेला कोसी अस्पतालकी तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले फागुनमै प्रदेश र स्थानीय तहसँग छलफल थालिन्। उनकै प्रयासमा प्रदेश १ मा छुट्टै कोभिड-१९ अस्पताल सञ्चालन गर्न प्रदेश र स्थानीय सरकार सहमत भए। त्यहीकारण अहिले संक्रमितहरुले सहज उपचार पाउन सकेको भन्दै यसको सबै श्रेय डा. मिश्रालाई दिन्छन् सिग्देल।

​डा. सिग्देलका अनुसार तत्कालीन मे.सु, मिश्राको योजनाअनुसार विराटनगर–१० स्थित पुरानो नेशनल ट्रेडिङको भवनमा छुट्टै कोभिड–१९ अस्पताल तयार भयो। उक्त उपचार केन्द्र प्रदेश १ मा पूर्ण रुपमा कोभिडका बिरामीहरुको उपचारका लागि सञ्चालनमा छ। जहाँ संक्रमितका लागि खानेबस्ने सबै व्यवस्था छ। उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि छुट्टै बस्ने व्यवस्था गरिएको छ। 

यो अस्पतालमा ५ भेन्टिलेटर, १० बेडको आइसियु र १० हाई डिपेन्डेन्सी युनिट एचडियुसहितको व्यवस्था छ। अस्पतालमा ७० बेडको जनरल वार्ड तयार छ। अस्पताल निर्माणका लागि प्रदेश १ को सामाजिक विकास, अर्थ र भौतिक पूर्वाधार मन्त्रालयले सहयोग गरेका थिए।

अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी र सबै कर्मचारीको साथ र सहयोगले नै कोरोनाका बिरामीको उपचार गर्न सहज भइरहेको बताउँछन् उनी। यसका साथै प्रदेश र स्थानीय तहबाट पनि साथ मिलेकाले कोरोनाविरुद्धको युद्धमा अझै बल मिलेको उनले बताए।

 कोरोनाविरुद्ध लडौँ

​कोरोनाविरुद्धको फ्रन्टलाइनमा पाँच महिनादेखि कोभिड-१९ उपचार केन्द्रको चिकित्सकीय नेतृत्व सम्हाल्दै डा. सिग्देल हरहमेसा खटिरहेका भेटिन्छन्। उनका परिवारका सदस्य काठमाडौंमा छन्। माहामारीको बेलामा कोरोनाविरुद्धको लडाइँको अग्रमोर्चामा लागिरहँदा परिवारले चिन्ता लिनु स्वाभाविक भएको उनी बताउँछन्। 'तर अहिले सबै कुरा बिर्सेर कोरोनाविरुद्धको लडाइँमा जुट्ने समय हो', उनले सुनाए।

‘उपचारमा खटिने स्वास्थ्यकर्मीमा परिवार र समाजका चिन्ता हुनु स्वाभाविक हो,’ सिग्देल भन्छन्, ‘डाक्टर पनि यही समाजकै हो, चिन्ता त भइहाल्छ नि। तर, हामी उच्च मनोबलका साथ टिम वर्क गर्छौं।’ 

उनले त्रासको समयमा काउन्सिलिङको आवश्यकता पर्ने सुझाए। बेला बेला आफैँ अन्य स्वास्थ्यकर्मीहरुलाई आवश्यक काउन्सिलिङ गर्दै कोरोनाविरुद्ध मोर्चामा खटिन हौसला दिइरहेको उनले सुनाए।

डा. सिग्देलका अनुसार कोभिडका बिरामीको उपचारमा १६ जना सिनियर र र १८ जना जुनियर चिकित्सकसहितको टिम बनाएर उपचारमा खटिएका छन्। त्यसमा नर्सहरु पनि छन्। दैनिक पाँचजना स्वास्थ्यकर्मीको टिमले संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी दिएर आवश्यकताअनुसार उपचार व्यवस्था मिलाउने गरिएको छ। 

स्वास्थ्यकर्मी हरेक ७ दिनमा परिवर्तन हुन्छन्। त्यसपछि आउनेबारे फेरि छलफल गर्ने र कर्मचारीको व्यवस्थापनसँगै तालिम दिनुपर्ने हुन्छ। कोभिड अस्पतालमा खटिने सबै स्वास्थ्यकर्मी तालिम प्राप्त छन्।

७ दिनसम्म ड्युटीमा रहेका स्वास्थ्यकर्मी १४ दिन क्वारेन्टाइनमा गएर बस्ने गरेका छन्। थप सात दिन होम क्वारेन्टाइनमा बस्‍नुपर्ने नियम छ। २१ दिनमा उनीहरु आफ्नो काममा फर्किन्छन्। उनीहरुको मनोबल बढाउने जिम्मेवारी नेतृत्वकर्ताको हैसियतले आफ्नो भएकाले त्यसमा सदैव ध्यान दिएको डा. सिग्देल बताउँछन्। 

फेरिएको दैनिकी

पछिल्ला समय कोरोनाको संक्रमण दर उच्च भएसँगै एक्कासि बिरामी थपिएका कारण चिकित्सक सिग्देलको दैनिकी पनि फेरिएको छ। कोरोना महामारीसँग जुध्न कोसी कोभिड-१९ उपचार केन्द्रका फ्रन्टलाइनका प्रमुख सिपाही डाक्टर सिग्देल हरसमय कोभिड-१९ अस्पतालमा हुने गरेका छन्। 

कोरोना संक्रमित बढेपछि कोसी अस्पतालका सिनियर फिजिसियन डाक्टर सिग्देल घरपरिवारबाट टाढा छन्। त्रासलाई अवसरमा बदलेर जतिसक्दो उनले आफ्नो दैनिकीलाई कोरोनाविरुद्धको अभियानमा केन्द्रित गर्दै आएका छन्।

आफनो क्वार्टरमा एक्लै सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनी बिहान १० बजे उपचारमा निस्कन्छन्। उपचार सकेर फर्कंदा रातको ९–१० बज्छ। ‘म आफैं खाना पकाएर ड्युटीमा निस्कन्छु,’ सिग्देल भन्छन्, ‘लकडाउनदेखि नै परिवार काठमाडौंमा छन्। एक्लै भएकाले भान्साको तयारी आफैं गर्छु। अहिले क्वार्टरमा एक्लै छु।’

उनको यसअघिको दैनिकी पनि सधैं धपेडीमै बित्थ्यो। बिहान बेलुका क्लिनिकमा र दिउँसो कोसी अस्पतालमा बिरामी हेर्थे। आजकल धपेडी त छ नै जोखिम पनि मोल्दैछन्।  उनी आफनो भन्दा बढी बिरामीको चिन्ता गरेर निर्भीकतासाथ कोरोनाविरुद्धको युद्धमा होमिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.