|

हेटौंडा/रौतहट : नागरिकता लिँदा झुटो विवरण पेस गरेको आरोपमा हेटौंडाका एक उद्योगी पक्राउ परेका छन्। हेटौंडा–५ बाट ५९ वर्षीय विप्लपकान्ती (विके बोस) नागरिकता मुद्दामा पक्राउ परेका हुन्। 

बोसलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले हेटौंडा–५ गदोईबाट पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको उनलाई आरोप छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बोसलाई रौतहट पठाइएको छ। रानाले भने, ‘रौतहट प्रहरीले नागरिकता सम्बन्धमा अनुसन्धान गर्न विप्लपकान्ती (विके बोस)लार्ई पक्राउ गरी पठाउन अनुरोध गरेबमोजिम मकवानपुर प्रहरीमार्फत आवश्यक स्वास्थ्य अवस्था चेक गरेर हामीले रौतहट प्रहरीको जिम्मा लगाएका छौं। थप अनुसन्धान रौतहटबाट नै हुनेछ।’

२०६३ मा वंशजको आधारमा नागरिकता 

जिल्ला प्रशासन रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीका अनुसार बोसले विसं २०६३ को नागरिकता टोलीबाट वंशजका आधारमा नागरिकता लिएका थिए। उक्त नागरिकता छानबिनका लागि अख्तियारमा उजुरी परेपछि गृहमन्त्रालय हुँदै सो कार्यालयमा जानकारी आउने र थप अनुसन्धान हुने छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालयमा लेखी पठाइएको छ।

बोसले २०६३ चैत्र ६ गते तत्कालीन वडहर्वा गाविस वडा नम्बर ५ बाट नागरिकता लिएको खुल्न आएको छ। उनको नागरिकतामाथि छानविन गर्न गृह मन्त्रालयले २०७६ माघमा जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्रचार गरेको थियो।

बोस हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दाेइमा रहेको नारायणी मिल्कका संचालक हुन्। उनी खुला व्याडमिन्टनका राष्ट्रियस्तरका खेलाडीसमेत हुन् । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.