कोही सुकुमबासी भए, कोही विस्थापित

|

म्याग्दी : सडक विकासको न्यूनतम पूर्वाधार हो। तर, जनताको सुविधा र गाउँठाउँको विकासका लागि अतिआवश्यक सडक खन्दा वातावरणीय सन्तुलन मिलाउन सकिएन भने सडक नै विपत्ति बन्छ। 

भएकै यस्तै छ। हिमाली जिल्ला म्याग्दीमा पनि यस वर्ष  बाढी पहिराले निकै क्षति पु¥याइसकेको छ। गत असार २५ गते पश्चिम म्याग्दीको मराङ, बिम,धारापानीलगायत ठाउँमा ठूलो मानवीय क्षति भयो। करोडौंको भौतिक क्षति पनि भयो। 

भदौको तेस्रो साता बितिसक्दा पनि वर्षा रोकिएको छैन। ३ दिनदेखिको वर्षाले म्याग्दीका विभिन्न ठाउँमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ। वातावरणीय अध्ययनबिना नै डोजर चालकको भरमा खनिएका मोटरबाटोका कारण जताततै भुस्खलन भइरहेका छन्। जसले गर्दा जिल्लामा बाढीपहिरोको त्रास बेस्सरी बढेर गएको छ। 

मंगलबार रातिकोे वर्षापछि ठाडोखोलामा आएको बाढीले बेनी नगरपालिका–७ मा पर्ने अग्निखेतमा लगाएको धानबाली पुरेको छ। बेनी बजारका पूर्णबहादुर कार्कीको धान रोपेको खेतबाट खोलो बगेको छ। कार्कीको मात्र होइन अग्नि खेतका ५ जना कृषकको खेत खोलामा परिणत भएको छ।

त्यसैगरी सोमबार राति बेनी बजारमाथि आपाँरुख क्षेत्रबाट आएको बाढीले बेनीको क्याम्पस चोक, अस्पताल चोक, कालीपुल वसपार्क र मंगलाघाट क्षेत्रमा क्षति पु¥याएको थियो।

खेत र सडकमा खोलो बग्न थालेपछि स्थानीय त्रसित बनेका छन्। पहिरोका कारण मंगला र मालिका गाउँपालिकाका विभिन्न वडामा पनि पछिल्लो समयमा क्षति पुगेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

डम्मरावासीहरु राति पानी पर्यो भने एउटा हातमा टर्च (लाइट) र अर्को हातमा कुटो कोदालो बोकेर बाढी पन्छाउन घर बाहिर निस्कने गरेका बेनी नगरपालिका–६ का अध्यक्ष कृष्णबहादुर बानियाँले बताए। बेनी दरवाङ सडकखण्ड विस्तार गर्ने क्रममा डम्मरादेखि बेनी नगरपालिका ४ सिंगा तातोपानीसम्मको दर्जनौं ठाउँमा पहरो र खेत डोजरले खनेपछि त्यस क्षेत्रको जमिन कमजोर बनेको स्थानीयको गुनासो छ। उत्तरी म्याग्दीको अवस्था पनि पश्चिमी म्याग्दीको भन्दा कम छैन। पहिरोले रघुगंगा गाउँपालिका–४,दग्नामको राम्कुलीबोटमा १० घरधुरी उच्च जोखिममा परेका छन्।

भिरालो जमिन, कमजोर भूबनोट र बलैटे माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले खेतीयोग्य जमिन समेत पुरेको छ। पहिरोले स्थानीय कृष्ण गुर्बजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्बर गर्बुजा, खड्क गर्बुजा, खविर तिलिजा, चन्द्र शेरपुञ्जा, केआईसिङ गर्बुजा र रन बहादुर गर्बुजाको घर उच्च जोखिममा परेको जनता माविका प्रधानाध्यापक गुन पुनले बताए। ‘घर चर्किएको छ, बस्ती नजिकैको जमिन चिरा परेको छ’, पुनले भने।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–३,दानाको फगाम गाउँ पहिरोकै कारण विस्थापित हुने अवस्थामा पुगेको छ। फगामका कर्णबहादुर नेपालीको १० रोपनी खेतीयोग्य जमिनसहित घर पहिरोले बगाएपछि सुकुमबासी भएका छन्। 

भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट विस्तार गरिएको बेनी–जोमसामे सडकखण्ड भासिएर फगाम गाउँका ७४ मध्ये १४ घरधुरी पूर्ण रुपमा विस्थापित भएका छन्। 

बस्ती नजिकैबाट विस्तार गरिएको सडकका कारण जमिन भासिएको र चिराचिरा परेको छ। जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा बाली लगाउन छाडेको नेपालीको भनाइ छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.