|

काठमाडौं : एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले कांग्रेस समर्थित विद्यार्थी संगठन नेविसंघले पेशेवर गुन्डा प्रयोग गरेर चुनाव भाड्न खोजेको आरोप लगाएको छ।

'आज फागुन १४ गते देशैभरी उमेद्वारी मनोनयनको कार्यतालिकालाई प्रभाव पार्नेगरी नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले क्याम्पसका निर्वाचनको कार्यतालिकामा विभिन्न आवरणमा निर्वाचन विथोल्ने मनसायका साथ गरिएको तालाबन्दी र नेविसंघले पेशेवर गुन्डाहरुको प्रयोग गरि विद्यार्थीहरुलाई आतंकित पार्ने, विपक्षी संगठनको ब्यानर च्यात्ने, तोडफोड गर्ने, ढुंगामुढा गर्ने र धम्क्याउने शैलीप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,' अनेरास्ववियुकी अध्यक्ष नविना लामाको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमार्फत अनेरास्ववियुले कागजी रुपमा निर्वाचन सम्पन्न गर्ने अभियानमा प्रतिबद्धता जनाएका विद्यार्थी संगठनहरुलाई व्यवहारिक रुपमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ। यसअघि माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघले मनोनयन दर्ताको दिन विभिन्न कलेजमा ताला लगाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। नेपाल विद्यार्थी संघले भने यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन्।

अपडेट : 

नेपाल विद्यार्थी संघले आधिकारीक धारणा सार्वजनिक गर्दै निर्वाचनको पक्षमा रहेको जनाएको छ। नेविसंघका अध्यक्ष नैनसिंह महरको हस्ताक्षर रहेको विज्ञप्तिमा अन्य विद्यार्थी संगठनले चुनाव भाड्नका लागि विभिन्‍न क्याम्पसमा तालाबन्दी गरेको उल्लेख छ। निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नेविसंघले त्रिविसँग माग गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.