|
Photo : Lokendra Basnet\NSC

काठमाडौं : प्रधानमन्त्री कप तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिपमा सर्वाधिक ४ स्वर्ण जित्दै केन्द्रीय मुवाथाई क्लब टिम च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिला ५५ केजीमा करुणा उप्रेती, पुरुष ६० केजीमा सागर दर्जी, पुरुष ५५ केजीमा सन्तोष मगर र पुरुष ६५ केजीमा राजिव खड्गीले केन्द्रीयलाई स्वर्ण दिलाए। फाइनलमा करुणाले एपीएफकी विनिता राई, सागरले केन्द्रीयकै विवेक गदाल, सन्तोषले काभ्रे मुवाथाई क्लबका तस्वीर लामा तथा राजिवले रेज फिट्नेसका ज्ञानदीप मल्ललाई पराजित गरे।

नेपाल राष्ट्रिय मुवाथाई संघद्वारा आयोजित प्रतियोगितामा एपीएफ २ स्वर्णसहित दोश्रो भयो। पुरुष ५० केजीमा एपीएफका सञ्जय राईले सिन क्योकुसिनका युवराज मगर तथा ७० केजीमा एपीएफका रुपक नेपालीले क्योकुसिन बुदोकाइका अतुल श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारे।

विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको बाँकी १ स्वर्ण काभ्रेको पोल्टामा गयो। काभ्रेका लागि एक मात्र स्वर्ण सन्देश मानन्धरले जिते। उनले पुरुष ७५ केजीको उपाधि भिडन्तमा सातदोबाटो मुवाथाई क्लबका रविन रानाको चुनौती समाप्त पारे।

विजेतालाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसी, आयोजक संघका अध्यक्ष गणेश कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पुरुषको ६ स्पर्धामा ४० तथा महिलाको १ स्पर्धामा ४ गरी जम्मा ४४ खेलाडीले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको उद्‍घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.