|

पर्सा : डेढ महिनादेखि बन्द वीरगन्जको मुख्य सडक खण्डका पसल शुक्रबारबाट भने एकै पटक खुल्ने भएका छन्। साउन १० गतेबाट वीरगन्ज महानगर र पछि जिल्लाभरि निषेधाज्ञा कायम लागु हुँदा जिल्लाका सबै आर्थिक क्षेत्र सुनसान बनेका थिए।

तर गत भदौ १९ यता एक साइडमा पालो गर्दै केही पसल खुल्न थालेका थिए। जिल्ला सुरक्षा समितिको शुक्रबारको नयाँ निर्णयपछि भने सबै पसल एकै पटक खुल्न पाउनेछन्। 

तथापि सुरक्षा सतर्कताका मापदण्ड भने व्यापारिक फर्म आफैंले पूरा गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पसल खोल्ने समय पनि बिहान ११ बजेबाट साँझ ४ बजेसम्मका लागि तय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए। 

तरकारी पसल बिहान मात्र खोल्न पाइने  

तरकारीका पसल भने बिहान ५ बजेबाट ८ बजेसम्म मात्र खोल्न पाइने छ। बाँकी खाद्यान्न, लत्ता कपडा, हार्डवेयर, लगायतका सबै प्रकारका पसल ११ बजे बिहानबाट साँझ ४ बजेसम्म मात्र खोल्न पाइने छ। संक्रमणको महामारीबाट बच्न र आम नागरिकको जन जीविकालाई पनि ध्यान दिएर पछिल्लो पटक यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताए। 

‘शनिबार भने कुनै पनि पसलहरु खोल्न पाइने छैन', जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले भने। विद्यालय, ट्युसन सेन्टर, सिनेमा हल, जिम खानालगायत मठ मन्दिर जस्ता मानिसको बढी भीडभाड हुने स्थानहरु भने खोल्न पाइने छैन। 

निषेधाज्ञा थप्दै भदौ ३१ सम्म 

वीरगन्ज महानगरपालिकामा साउन १० गतेदेखि निषेधाज्ञा सुरु भएको थियो। साउन १९ गतेबाट पर्सा जिल्लाभर थपियो। साउन ३१ गतेको निर्णयबाट सेनासमेत परिचालन गरी भदौ १३ गते बिहान ५ बजेसम्म निषेधाज्ञा लम्याइएको थियो। 

सो अवधि सकिनुपूर्व गएको भदौ १२ गतेको बैठकले जिल्लाभर लगाइएको निषेधाज्ञा पुनः खुम्च्याई वीरगन्ज बजार क्षेत्रमा मात्र लगाउने निर्णय गरियो। लगत्तै भदौ १९ गतेदेखि भने वीरगन्जको मुख्य बजार क्षेत्रका एकतर्फी पसलहरु खुले। बिहीबार भएको नयाँ निर्णयपछि भने वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेका पसलहरु शनिबारबाहेक प्रत्येक दिन निर्धारित समयमा खोल्न पाउने निर्णय भएको हो। तर निषेधाज्ञा भने आगामी भदौ ३१ सम्म नै लम्ब्याइएको छ। 

जिल्ला सुरक्षा समितिको निर्णयविपरीत कसैले पसल संचालन गरेको पाइए संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

राहत भयो : व्यापारी

जिल्ला प्रशासन कार्यालय पर्साले गरेको पछिल्लो निर्णयले आम व्यापारी र सर्वसाधारणलाई केही राहत भएको व्यापारीहरुले बताएका छन्। ‘अरुभन्दा पनि बन्द पसलमा मुसाले सामान काटेर फोहोर बनाएको सरसफाइ गर्न भने पाइयो,’ मेन रोडका एक व्यापारीले भने।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले पनि जनजीविकाका लागि केही राहत भएको बताए। संक्रमणबाट जोगिन र जोगाउन भने सबैको सहकार्यबिना सम्भव नहुने उनको तर्क छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.