|

सोलुखुम्बु : ठूलो ढुंगासहित पहिरो खसेर शनिबार बिहानैदेखि अवरुद्ध बनेको ओखलढुंगा–सल्लेरी–जन्तरधाप सडकखण्ड खुलाउन कन्ट्रोल विष्फोट गरिएको छ।

सोलुखुम्बुका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मिकुमारी शाहीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अध्ययन गरी ढुंगा पन्छाउने अन्य विकल्प नभएपछि कन्ट्रोल विष्फोट गरिएको हो । ढुंगा हटाउने अन्तिम विकल्प नै विस्फोट गराउने भएकाले सुरक्षा समितीको बैठक बसेर ब्लाष्टिङ गरिएको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी टेकुनन्द इवा लिम्बुले बताए। डिएसपी लिम्बुका अनुसार १० वटा ब्लाष्टिङ गरेर सडकमा झरेको ठूलो ढुंगा हटाउन सफल भए पनि वर्षातसँगै लेदो बग्दा सडक भने अझै सञ्चालनमा आएको छैन।

वर्षातसँगै निरन्तर लेदो बगिरहेकाले आवतजावत गर्ने आम नागरिकलाई सचेत रहन जिल्ला प्रसाशन कार्यालयले आग्रह गरेको छ। जिल्ला सदरमुकाम प्रदेश र संघीय राजधानी जोड्ने एक मात्र सडक खण्डमा निरन्तर पहिरो खसिरहँदा यहाँका नागरिकले सास्ती खेप्नुपर्ने बाध्याता रहेको यात्रु देवेन्द्र बास्तोलाले बताए ।

हिउँद तथा बर्खा बाह्रै महिनाको समस्या उस्तै भए पनि सम्बन्धित निकायको बेवास्ताका कारण सवारी सधानमा क्षति पुग्ने गरेको सवारी चालक प्रविन कार्कीले बताए। केही दिनअघि मात्रै गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते भएका थिए। सडकको ट्रयाक खोल्दादेखिकै समस्या भए पनि दशकौं बितिसक्दा समेत दिगो समाधानको उपाय नखोज्नु दुःखद् भएको स्थानीय उद्धब प्रसाद काफ्ले बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.