|

विराटनगर : हत्या ओरोपित मोरङ बेलबारी–५का विनय सरदारलाई  प्रहरीले पक्राउ गरेको छ। बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा एक जनाको ज्यान जाने गरी भएको घटनाका आरोपित सरदारलाई घटना भएको १८ दिनपछि प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित साथीको घरमा लुकेर बसेको अवस्थामा सरदारलाई मंगलबार पक्राउ गरेको मोरङकाप्रहरी प्रमुख सन्तोष खड्काले बताए।

प्रहरीका अनुसार भदौ १२ गते लोहन्द्रा खोलामा एक जनाको ज्यान जाने गरी भएको सामूहिक आक्रमणको नेतृत्व सरदारले गरेका थिए। सरदारको नेतृत्वमा भएको सामूहिक आक्रमणमा परेर स्थानीय ४० वर्र्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो भने उनकै परिवारका तीन जना घाइते भएका थिए।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यहीदिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो। घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए। एउटै परिवारका उनीहरु उपचारपछि घर फर्किसकेका छन्।

मृतक चन्द्रकुमार र घाइते समुन्द्र सइकुमारका भाई र गौरव छोरा हुन्। मृतक चन्द्रकुमारलाई सरदारले नै बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ। बेलबारी–५ कसेनीस्थित लोहन्द्रा खोलामाथि बनाइएको बाँसको पुलमा उठाउने गरिएको पैसाको विवादका कारण घटना भएको थियो।

घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई घटना भएकै दिन प्रहरीले नियन्त्रणमा लिएका थियो।

सरदारसहित घटना संलग्न अन्य भने घटनापछि फरार रहेका थिए। घटनामा संलग्न ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथन– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्के लगायत अझै फरार रहेका प्रहरीले जनाएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.