काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबारदेखि बिदा भएका छन्। उनी प्राधिकरणबाट बिदा भएपछि सरकारमाथि आक्रोश चुलिँदो छ।
सामाजिक सञ्जालमा सर्वसाधारणदेखि सेलिब्रिटीहरुले पनि कुलमानलाई फेरि अवसर नदिएकोमा आक्रोश पोखेका छन्। चर्चित गायक अमृत गुरुङले पनि कुलमानलाई फेरि अवसर नदिएकोमा चित्त दुखाएका छन्।
उनले बुधबार फेसबुकमा आफ्ना भनाइ राख्दै स्वतन्त्रता छिनेकोमा सरकारलाई धन्यवाद दिएका छन्। 'अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुसी भएको थिएँ, अहिले कुलमान बिदाइको समाचारले खिन्न भएँ। म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ', उनले लेखेका छन्, 'राम्रो गर्नेलाई राम्रोभन्दा इर्ष्याको शिकार बनाउने परिपाटी सुरु भएको हो भने अब त्यो पनि भन्न भएन। स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार।’
घिसिङको चार वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा पुन उनको नियुक्ति हुने विश्वास आमजनताले लिएका थिए। तर सरकारले उनको पुन:नियुक्तिमा कुनै चासो नदेखाएपछि नागरिकहरु निराश छन्।
उनी बिदा भएपछि पहिले जस्तै १८ घण्टे लोडसेडिङ झेल्नुपर्ने चिन्ताले सर्वसाधरणलाई सताएको छ। उनको नियुक्तिका लागि सडक आन्दोलन पनि जारी छ। कलाकारहरुले पनि घिसिङको समर्थनमा आवाज उठाइरहेका छन्।
बुधबारै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कुलमानलाई अवसर नदिनु भनेको भ्रष्टाचारको नमुना भएको बताएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।