|

एजेन्सी : नेपालको रेल जनकपुर आइपुगेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारस्थित सुपौलबाट चल्न कोसी रेल महासेतुको उद्घाटन गरेका छन्। बिहारमा चुनावी माहोल तातिरहेका बेला मोदीले रेल सेवा उद्घाटन गरेर त्यहाँका क्षेत्रीय दलको भोट भाजपातिर तान्‍ने कोसिस गरेका छन्।

बिहारमा हुन लागेको विधानसभा चुनावको ठीक पहिले केन्द्र सरकारले कयौँ नयाँ परियोजनाको उद्घाटन गरेर त्यहाँका जनतालाई फकाउन खोजेको हो। यसै क्रममा शुक्रवार प्रधानमन्त्री मोदीले मिथिलाञ्‍चल जोड्ने कोसी रेल महासेतुको उदघाटन गरेका हुन्। 

यस कार्यक्रममा बोल्दै बिहारका मुख्यमन्त्री नितीश कुमारले अटल बिहारी बाजपेयीको कार्यकालमा सुरु भएको कार्यक्रम मोदी सरकारको पालामा पूरा भएको बताए। उनले कांग्रेस नेतृत्वको युपीए सरकारका कारण रोकिएको परियोजना अहिले सकिएको भन्दै खुसी व्यक्त गरे। उनले यो रेल लाइनको अझै विस्तार गरिनुपर्ने बताए।

यसका अलावा मोदीले समस्तीपुर रेलमण्डलका कयौँ योजनाको पनि उद्घाटन गरेका छन्। सुपौलबाट आसनपुर-कुपहा-डेमु रेललाई पनि उनले हरियो झण्डा देखाएका छन्। 

मोदीले समस्तीपुर रेलमण्डलक ५ ठूला योजनाका साथै ३ रेललाई पनि हरियो झण्डा देखाए। डिआरएम अशोक माहेश्‍वरीका अनुसार मोदीले सीतामढीबाट आनन्द विहार टर्मिनलका लागि विद्युतीय इन्जिनवाला लिच्छवी एक्सप्रेस, सुपौल सरायगढ आसनपुर कुपहा स्टेशनका लागि डेमु र सरायगढ राघोपुरका लागि एक डेमु रेललाई डिजिटल भिडियो कन्फ्रेसिङमार्फ हरियो झण्डा देखाइदिए।

मोदीले आज कोसी महासेतु देशलाई समर्पित गरे पनि यसलाई मिथिलाञ्‍चलसँग जोडिन केही दिन कुर्नुपर्नेछ। सुपौलबाट सरायगढ हुँदै कोसी महासेतुबाट रेल असानपुर कुपहा हल्टसम्म जानेछ।

असानपुर कुपहा हल्टबाट झन्झारपुर स्टेशनसम्म काम भइरहेको छ। यी दुई स्टेशनबीच ५ साना पुल निर्माण भइरहेको छ। यो काम पूरा भएपछि कोसीबाट मिथिलाञ्‍चलको दरभंगा स्टेशन जोडिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.