|

दमक (झापा) : भदौको अन्तिम साताको अविरल वर्षाका कारण झापाका ग्रामीण सडक क्षतविक्षत बनेका छन्। मुख्य राजमार्गबाट ग्रामीण क्षेत्र जोड्ने कच्ची तथा निर्माणाधीन सडकहरु अस्तव्यस्त हुँदा जनजीवन समस्यामा परेको छ। सडकमा भएका खाल्डामा पानी जमेपछि बालबालिका डुब्ने र दुर्घटनाको खतरा बढेको स्थानीय बताउँछन्।

गौरादह नगरपालिका र कमल गाउँपालिकाको सिमानामा पर्ने सोलमारीदेखि बैगुन्धुरा हुँदै कोरोबारी जोड्ने सडक जीर्ण हुँदा सर्वसाधारणले हैरानी व्यहोर्नु परेको छ। बाटो हिँड्दा भौडीमा डुबिने खतरा भएको स्थानीय रेनुका राईले बताइन्। उनले केही समयअघि सडकमा स–साना देखिएका खाल्डाको आकार दिनदिनै बढेर मान्छेनै डुब्ने किसिमको भएको बताइन्।

सडकको जीर्ण अवस्थाका कारण करिब १० किलोमिटर खण्डमा मोटरसाइकल, अटो रिक्सा आदि चल्न नसक्ने अवस्था आएको छ। जसका कारण बैगुनधुरा, कोरोबारी क्षेत्रका सर्वसाधारण बैकल्पिक बाटो भएर राजमार्गसम्म निस्किनुपर्ने बाध्यतामा छन्।

त्यसैगरी शिवसताक्षी नगरपालिकाको दुधे, झिलझिलेबाट शिवगञ्ज हुँदै चौरी र कुञ्जीबारीसम्म पुग्ने करिब १२ किलोमिटर सडकखण्डको अवस्था पनि जीर्ण बनेको छ। शिवगञ्ज बजारबाट दक्षिणतर्फ महाभारा, कुञ्जीबारीसम्म पुग्ने कालोपत्रे सडक समेत जीर्ण हुँदा बाटोमा खाल्डाखुल्डी परेका छन्। खाल्डोमा पानी जमेका कारण आवतजावतमा समस्या भोग्नु परिरहेको स्थानीयबासीले बताए।

पूर्व–पश्चिम राजमार्गमा पर्ने शिवसताक्षीको झिलझिलेबाट धौलेचोक, जनताचोक हुँदै होक्कलबारी जोड्ने सडक भने स्तरोन्नतिको काम भइरहेको छ। स्तरोन्नतिको क्रममा रहेको सो सडकको हवल्दारचोक जनता खण्ड हिलाम्ये हुँदा साना सवारी साधन सञ्चालन र पैदल यात्रा गर्न समेत कठिन हुने गरेको गौरीगञ्ज–१ का सुनिल काफ्लेले बताए। सिमावर्ती गौरीगञ्ज–१ का बासिन्दा सोहि मार्ग हुँदै पूर्व–पश्चिम राजमार्गसम्म आउने गरेका छन्।

नदी कटान तीव्र

केही दिनको झरीपछि झापाको मुख्य नदी कन्काई तथा अन्य खोलाहरुमा समेत पानीको सतह बढेको छ। पानीको सतह बढेपछि नदी किनारमा कटान तीव्र भएको छ। नदीकटान बढेपछि नदीकिनाराका बासिन्दा त्रसित बनेका छन्। नदीको कटान बढे पछि नदी किनाराका बासिन्दा जोखिममा परेको शिवसताक्षी–६ का वडा अध्यक्ष मनोज खुलालले बताए। यस्तै, नदी किनारामा लगाइएको धान खेती समेत कटान गर्न थालेपछि स्थानीय किसान समस्यामा परेको उनको भनाइ छ।
 
यस्तै, झापा र मोरङ्को सिमाना भएर बग्ने मावा खोलाले दमक नगरपालिका–१० मा कटान तीव्र बनाएको छ। सो वडाको सेतुमारी क्षेत्रमा कटान बढे पछि स्थानीय त्रसित भएका छन्। 

पूर्व–पश्चिम राजमार्गसँगै रहेको रतुवा माईवृक्षा रोपण आयोजना क्षेत्रमा समेत स्थानीय खोला तथा खोल्सीले कटान गरेको छ। केही दिनको झरीपछि आएको बाढीले आयोजनाको किनाराक्षेत्रमा कटान गरेको आयोजना प्रमुख खेम विश्वकर्माले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.