|

कपिलवस्तु  : कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ वसन्तपुर निवासी ६० वर्ष पार गरेकी नागरिकता विहीन वृद्ध पार्वता विकलाई आर्थिक सहयोग भएको छ।

६० वर्ष पुग्दा पनि नागरिकता नपाएकी पार्वताबारे थाहाखबरमा भदौ १२ गते समाचार प्रकाशन भएको थियो। थाहाखबरमा समाचार प्रकाशन भएपछि नागरिकता बनाउन सहयोग गर्ने प्रतिबद्धता सहित सङ्कलन गरिएको रुपैयाँ हस्तान्तरण भएको हो।

‘नेपाल कम्युनिस्ट पार्टी नेकपा समूह’ फेसबुक ग्रुपका एडमिन छत्र थापा आफैं घरमा पुगेर रकम सहयोग गरेका हुन्‌। फेसबुक समूहका एडमिन विन्दु घिमिरेबाट तीन हजार पाँच सय, केभिन रिजालबाट १० हजार १७, छत्र थापाबाट दुई हजार ५० र भानु गौतमबाट तीन हजार १३७ रुपैयाँ रकम सङ्कलन गरी सहयोग गरिएको छ।

लकडाउनका कारण खानाको जोहो गर्न समेत समस्या भोगेकी पार्वताको अवस्थाबारे समाचार आएपछि माहुरी होम संस्था लगायत दुई व्यक्तिले खाद्यान्न सहयोग गरेका थिए। सङ्कलन भएको रकम प्राप्त भएपछि कर्जा समेत तिरेको पार्वताले बताइन्‌।

सुकुम्वासी वस्तीमा २० वर्षदेखी बस्दै आएकी पार्वताले अझैसम्म नागरिकता पाएकी छैनन्‌। उनका पति र १ छोरी भने नागरिकता बनेको छ। गत वर्ष पार्वताका पतिको निधन भएको थियो।

पार्वतासँग नागरिकता बनाउनका लागी आवश्यक कागजात नपुग्ने भन्दै नागरिकता दिन स्थानीय सरकारले आनाकानी गरेको थियो। उनले नागरिकताका लागि जन्म दर्ता बनाउन अर्घाखाँची जाँदा लिएको दुई हजार ऋणसमेत तिर्न सकेकी थिइनन्।​

बुद्धभुमी-८ का कानुन व्यवसायी देवहरी गौतमले नागरिकता बनाउनका लागी सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.