डडेल्धुरा : जिल्ला सदरमुकामा रहेको डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अपरेसन गरिएको छ। यस विधिबाट पहिलो पटक अस्पतालमा अपरेसन गरिएको हो।
पछिल्लो १० दिनमा चारजनाको ल्याप्रोस्कोपिक प्रविधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। चारैजनाको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राजन शाह नेतृत्वको चिकित्सकको टोलीले अपरेसन गरेको हो।
सुदूरपश्चिम प्रदेशभरमै पहिलो पटक डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए। प्रसूति गराउने शल्यक्रियाबाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचार अब यसै प्रविधिबाट सम्भव भएको डा शाहले बताए। ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया बिरामीका लागि स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी हुने उनको भनाइ छ।
पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने तथा बिरामीले महिनौंसम्म आराम गर्नुपर्ने आवश्यकता नहुने डा. शाहको भनाइ छ। उनका अनुसार दुई–तीन दिनमा अस्पताल बसाइँ सकेर बिरामी एक सातामा आफ्नो नियमित काममा फर्किन सक्छ।
यस विधिबाट अपरेसन गरेपछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको उनको भनाइ छ। ‘हाम्रो आँखाले नदेख्ने कतिपय कुरालाई दूरबिनले अझै स्पष्ट गरेर देखाउँछ,’ उनले भने, ‘शल्यक्रियामा दूरबिन प्रविधि सबैभन्दा उत्कृष्ट हो।’
अस्पतालमा शल्यक्रिया गरिएको चार जनामध्ये तीनजना डिस्चार्ज भइसकेको र एकजना उपचाररत रहेको डा शाहले जानकारी दिए।
के हो ल्याप्रोस्कोपिक सर्जरी?
परम्परागत रूपमा पेटमा ठाडो वा तेर्सो लामो चिरा काटेर गरिने अपरेसनको साटो पेटमा स–साना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो।
यो सर्जरी गर्दा पेटमा एक सेन्टिमिटरसम्मको प्वाल पारेर त्यहाँबाट क्यामेरा पठाएर उच्च प्रकाश र क्यामेराको सहायताले पेटको अपरेसन गरिन्छ। पेटको कुन भागको अपरेसन गर्ने हो, त्यसअनुसार पेटमा अन्य दुई वा तीन सेन्टिमिटरसम्मको वटा प्वाल पारेर औजारको माध्यमले जुन अंगमा रोग छ, त्यस अंगको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ।
पेट चिरेर गरिने अपरेसनको तुलनामा यो प्रविधि बढी सुरक्षित मानिन्छ। यस प्रविधिबाट शल्यक्रियापछि बिरामीले कम समय अस्पतालमा बसे पुग्ने, छिटो दैनिक काममा फर्किन सक्ने, सानो घाउ हुनाले दुखाइ खासै नहुने तथा औषधि पनि खासै प्रयोग गर्नपर्न हुँदैन।
साथै यो विधिबाट उपचार गरेका बिरामी छिटो तंग्रिन सक्ने र भविष्यमा समेत पेट चिरेरका बिरामीले जस्तो समस्या भोग्नु नपर्ने चिकित्सकहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।