|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरूमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ।

नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानिक व्यवस्थाअन्तर्गत विभिन्‍न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको बताए।

त्यस्तै संवैधानिक परिषद्को बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गरेको श्रेष्ठले बताए।

यसबाहेक पार्टीको साङ्गठानिक एकीकरणका बाँकी काम पूरा गर्न १० दिन भित्र अध्यक्षद्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गरेर त्यसका आधारमा छलफल गरी सचिवालयले टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ। 

बैठकले विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयको सन्दर्भमा दुई तीन दिन भित्रमा बैठक बसी निर्णय गर्ने निष्कर्ष पनि निकालेको प्रवक्ता श्रेष्ठले बताए। स्थायी कमिटीको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो। 

बैठकले पार्टी भित्रको एकता, समझदारी र विश्‍वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाई सरकारलाई अझ सफल बनाउने दिशातिर अगाडि बढ्ने विश्‍वास र अपेक्षा पनि बैठकले गरेको श्रेष्ठले बताए। बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे कुनै छलफल नगरेको पनि प्रवक्ता श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.