निर्देशक भन्छन् : मेडिकल अवस्था नबुझी समाचार बनाइयो

|

काठमाडौं : ६३ वर्षीय कोरोना संक्रमित कैदीबन्दी शव व्यवस्थापनमा विवाद भएपछि अन्त्येष्टि हुन सकेको छैन। वीर अस्पतालमा उनकाे उपचार क्रममा मृत्यु भएको हो। मृतकका आफन्तले सहमति नदिँदा अन्त्येष्टि हुन नसकेको हो।

केन्द्रीय कारागार सुनधारामा रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि ३ गते वीर अस्पतालमा भर्ना गरिएको थियो। ती कैदीबन्दीको वीर अस्पतालमा ल्याइ पुर्‍याएपछि यही ४ गते मृत्यु भएको कारागार प्रमुख लक्ष्मी प्रसाद बास्कोटाले बताए।

कैदीबन्दीको मृत्युको विवादास्पद हल्ला भएपछि कारागारले गम्भीरताका साथ त्यसको निरीक्षण गरिएको उनले जानकारी दिए। प्रहरी, कारागार र अस्पतालका स्वास्थ्यकर्मीसहित शवको अवलोकन गर्दा त्यस्तो चोटपटक नदेखिएको उनले प्रस्ट पारे।

रुपन्देहीका सिदार्थ नगरपालिका-५ का ६३ वर्षीय पुरुष विभिन्‍न कारागारमा गरेर ८ वर्षदेखि बन्दी अवस्थामा रहेका बास्कोटाले जानकारी दिए। 'कैदीमा दीर्घरोग पार्किन्सनको समस्या थियो,' उनले भने, 'उपचार गर्न केन्द्रीय कारागारमा सरुवा गरिएको थियो। उनको उपचार क्रममा सरकारको ५ लाख रुपैयाँ सकिएको छ।'

कर्तव्य ज्यान मुद्दामा उनले जेल सजाय काटिरहेका थिए। काठमाडौं ल्याएको ३ वर्ष भइसकेको बास्कोटाले जानकारी दिए।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले कारागारबाट ल्याएपछि ड्युटीमा रहेका चिकित्सकले जाँच गर्दा ती कैदीको मृत्यु भइसकेको बताए। उनले मृत्यु भइसकेको पाइएपछि गरिएको परीक्षणबाट उनका कोरोना पुष्टि भएको उल्लेख गरे। 

डा. सेन्चुरीले त्यसपछि शवगृहमा राखिएको शव सड्ने क्रममा रहँदा यस्तो हुन गएको उल्लेख गरे। 'तीन दिनदेखि मृतकको शव शवगृहमा राखिएको छ। जसले गर्दा सड्ने गल्ने प्रक्रिया सुरु भइसकेको छ। सड्ने क्रममा नाक मुख सुन्‍निएको तथा मुख र नाकबाट तरल पदार्थ निस्किनु सामान्य प्रक्रिया हो', उनले भने, 'शवलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा हुने यो सामान्य प्रक्रिया हो।'

डा. सेन्चुरी यस्तो मेडिकल अवस्थालाई नबुझी अफवाह फैलाएकोमा आपत्ति जनाए। 'यो मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यमहरुमा आँखा निकालिएको, चोटपटक लागेको र घाँटी काटिएको जस्ता भ्रामक समाचार सम्प्रेषण भएकोमा ती समाचारमा कुनै सत्यता र यथार्थ छैन,' सेन्चुरीले भनेका छन्। 

संक्रमित कैदीलाई राति ११ बजे इमर्जेन्सीमा भर्ना गरिएको र ४ गते मृत्यु भएको वीर अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले बताए। उनका अनुसार मृत्युपछि स्वाब संकलन गरिएको थियो। ५ गते कोरोना पोजेटिभ आएको थियो।

प्रहरीको रोहवरमा शवको निरीक्षण गरिएको उनले बताए। 'त्यस्तो चोटपटक केही पनि छैन। गर्मीका कारण पनि त्यस्तो चोट देखिन्छ। शरीरमा फोका र कालो दाग जस्तो देखिन्छ, तर,केही पनि होइन',  उनले भने, 'शवको मुचुल्का भइरहेको छ। शवलाई स्थानान्तरणका लागि आफन्तले सहमति दिएमा हुन्छ।'

शवमा मुद्दा मामिला भए पोष्टमार्टम हुन सक्छ। तर कोभिडको त्रासमा पोष्टमार्टम नहुन पनि सक्ने उनले बताए। पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा लानुपर्ने हुन्छ। तर कोभिडबाट ज्यान गएकाले त्यहाँसम्म लगेर पोस्टमार्टम गराउन पनि चुनौतीपूर्ण रहेको कार्कीले जानकारी दिए।

तर मृतककी छोरीले वीर अस्पताल परिसरमै बोल्दै आफ्ना बाबुको वीभत्स हत्या भएको जिकिर गरेकी छन्। उनले बुवाको मुखबाट रगत आइरहेको बताउँदै अंग निकालेर अस्पतालमा वीभत्स हत्या गरिएको दाबी गरिन्।

'कसले ज्यान लियो यसरी मेरो बुबाको?', उनले भनिन्, 'मेरो बुवाको आँखासहितको शरीरको अंग नै झिकिएको सुनेका छौं। यसविरुद्ध हामी मुद्दा हाल्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.