काठमाडौं : सवारी नियम उल्लङ्घन गरेपछि सवारी चालकहरूले घुस दिएर प्रलोभनमा पार्न खोज्दा अस्वीकार गर्ने १७ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई एसएसपी भीम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन्।
नेपाल प्रहरीको आर्थिक शून्य सहनशीलतालाई अक्षरश: पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक/सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपर्ने उनीहरुलाई सम्मान गरिएको हो। उनीहरुले नियम तोड्ने चालक/सह-चालकलाई कारवाहीको दायरामा ल्याएर जिम्मेवारी पूरा गरेको महाशाखाका प्रमुख ढकालले बताए।
'संगठनको छवि उच्च पारी दिइएको जिम्मेवारी इमान्दारीसाथ पूरा गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन गरिएको हो', उनले भने, 'सम्मान गरेपछि ट्राफिक प्रहरीको काममा पारदर्शिता र इमान्दारीता देखिन थालेको छ।'
यसअघि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ। यसै वर्ष सेवाग्राहीसँग घुस लिनेसहित ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही गरिएको महाशाखाले जनाएको छ। जसमा ४ जनालाई जागरिबाटै हटाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।