बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा थप दुई वटा सरकारी स्वास्थ्य संस्था थपिएका छन्। यो सँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ। मंगलबारबाट वडा नं. १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन्।
नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. १ को शिवचोक र वडा नं. ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरेका छन्। केही दिनभित्रै वडा नं. ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिने नगरपालिकाका अधिकारीहरूले बताएका छन्।
हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम तीव्रताका साथ अघि बढेको हो। स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवनहरू पनि निर्माण भैरहेका छन्।
हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएका छन्। स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरवासीलाई आग्रह गरे।
आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरू उपलब्ध छन्। केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरू कार्यरत छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।