म्याग्दी : वर्षा ऋतु समाप्त भई शरद ऋतु लागेसँगै उत्तरी म्याग्दीका लेकाली खर्कहरू १६ शृङ्गार गरेर चिटिक्क परेकी अप्सराजस्ता देखिएका छन्। अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ मा पर्ने पाउद्वार गाउँदेखि उकालो लागेपछि देखिने प्राकृतिक सौन्दर्यतासँग नलठ्ठिने सायदै कोही भेटिएलान्।
खर्कभरी फूलेका दर्जनौं प्रजातिका वनफूलहरू, हिमाल र आकाशको प्रतिबिम्ब देखिने निर्मल ताल, माथि हेर्दा देखिने नीलो आकाश, खर्कमा चरिरहेका चौँरीको बथान, लेकाली भेडाको लहर, छङछङ बगिरहेका झरना र नजिकै मुसुक्क मुस्कुराएर आमन्त्रित गरेजस्ता देखिने अन्नपूर्ण, धौलागिरि र निलगिरि हिमालको पङ्क्ति, प्रकृतिको वर्णन के गरिसाध्य !
म्याग्दीको सदरमुकाम बेनीबजारदेखि २८ किलोमिटर उत्तर/पूर्व को दुरीमा रहेको पाउद्वारदेखि खयरवराहीसम्मको भूगोल प्राकृतिक सुन्दरता र जैविक विविधताका मनमोहक र अमूल्य सम्पदाले सम्पन्न छ।
फेदी नारच्याङको सीमानामा रहेको पाउद्वार तातोपानी (१९१० मिटर उचाई) भएर बग्ने कालीगण्डकीदेखि लेक, अन्नपूर्ण दक्षिण (७२१९ मिटर उचाई) सम्म फैलिएको यहाँको भूगोल यतिबेला बैंशालु युवतीजस्तै चिटिक्क परेको छ। फेदमा कालीगण्डकी र शिखरमा अन्नपूर्ण हिमाल नजिकको यस भूगोललाई जन बोलीमा 'माछीचरनदेखि डाँफे चरनसम्मको ठाउँ' भन्ने गरिन्छ।
प्राकृतिक र भौगोलिक सुन्दरताले भरिपूर्ण पाउद्वार धार्मिक र जैविक दृष्टिकोणले पनि सम्पन्न छ। पाउद्वार गाउँबाट करिब ४० मिनेट उकालो चढेपछि चिया खाजा खाने रेष्टूराँ भेटिन्छ भने त्यत्ति नै उकालो उक्लिएपछि लरेनी भन्ने ठाउँमा पुगिन्छ। यहाँदेखि सुन्दर धुरीको बाटो हुँदै खोप्रा लेक पुगिन्छ।
बाटोमा पर्ने खर्कहरूमा फूलेका विभिन्न प्रजातिका सुन्दर फूलहरूले खोप्राको धुरीलाई दुलही झैं सिँगारेका छन्। ती जंगली फूलबाट गज्जबको महक आउने गर्दछ। त्यो महकले बटुवालाई नै लठ्याउँछ।
प्रकृतिका अनुपम सौन्दर्यलाई हेरेर कहिल्यै अघाइँदैन। खयरभारानीको सिद्ध थानमा भाकल गरेपछि चाहेको पुग्छ भन्ने जनविश्वास रहेको छ। यहाँ अक्षता,धुप बत्ती र जौको सातु चढाउने चलन रहेको छ।
त्यहाँ देखि अघि बढेर आधा घण्टा जति हिँडेपछि समुद्री सतहदेखि करिब ३६७० मिटर उचाइमा रहेको खोप्रा पुगिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।