गुल्मी : नौ जना कर्मचारीसहित १७ जनामा कोरोना सक्रंमण पुष्टि भएपछि गुल्मीको मुसिकोट नगरपालिका सिल गरिएको छ
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा स्वाब परीक्षण गर्दा १७ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए।
संक्रमितमध्ये नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारी नौ जना रहेका छन्। त्यस्तै, दुई जना सुरक्षाकर्मी, एक जना एम्बुलेन्स चालक, एक जना स्थानीय र बाँकी ४ जना क्वारेन्टाइनमा रहेका व्यक्ति रहेको नगरपालिकाले जनाएको छ।
नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरूमध्ये इन्जिनियरदेखि विभिन्न शाखाका शाखा प्रमुखहरू रहेका छन्। संक्रमतिको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीमा सामान्य लक्षण देखिएकाले उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।
नगर कार्यपालिकाको बैठकले असोज १३ गतेसम्मका लागि नगरपालिकाको कार्यालय र वडा नं ७ वडा कार्यालय सिल गर्ने निर्णय गरेको छ। उनीहरूको सम्पर्कमा आएकाहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको स्वास्थ्य शाखाका प्रमुख डिबी जिसिले जानकारी दिए।
योसँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४८१ पुगेको छ भने ४४७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। जिल्लामा अहिलेसम्म तीन संक्रमितको ज्यान गएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।