धादिङ : मंगलबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा विभिन्न स्थान विभिन्न ठाउँमा पहिरो खसेको छ।
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण राजमार्गको हुग्दीखोला, जवाङखोला, बेनिघाट, गलौदी, गल्छीलगायत १५ भन्दा बढी ठाउँमा साना ठूला पहिरो खसेर दिनभर नै सवारी आवागमनमा अवरोध पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक नेत्र भट्टले बताए।
पहिरो खसेर अवरुद्ध हुन पुगेको सडक खण्डमा सडक विभाग, स्थानीय तह तथा ट्राफिक कार्यालयको डोजर प्रयोग गरी दिनभर पहिरो हटाउने कार्य भएको प्रहरी निरीक्षक भट्टले बताए।
पानी परिरहेको हुँदा रातको समयमा पनि पहिरो खस्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन। वर्षा हुने क्रम नरोकिएकाले ठाउँमा ठाउँमा डोजरहरु तयारी अवस्थामा राखेको पनि प्रहरी निरिक्षक भट्टले बताए।
पहिरो खस्दा जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा बुधबार विहान दुई वटा सवारी साधन पुरिएका थिए। काठमाडौंबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र भारतबाट सामान लिएर काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनरमा पहिरोले क्षती पुर्याएकोे थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।